२०८३ साउन २१ गते बिहीबार

माया म देखाउन जानिनँ, महसुस गर !

माया म देखाउन जानिनँ, महसुस गर !

मन क्षेत्री

@Public 4K Tv

२०७७ माघ १७ गते शनिबार ०९:३९

कुनै अमूर्त विम्बजस्तो छ माया । सुन्दा सरल छ बुझ्दा गहिरो ! कसैले फ्याट्ट सोधिहाले झ्याप्प भन्न सकिने यसको खास अर्थ छैन । माया न देखाउने चिज हो, न बताउने कुरा । नबोल्दा नबोल्दै, नदेखाउँदा नदेखाउँदै ‘महसुस’ हुने र गरिने एउटा विश्वास...

प्रमाेद खरेल, आशिष अविरल र एकनारायण भण्डारी फेरि एकैसाथ बजारमा

कुनै अमूर्त विम्बजस्तो छ माया । सुन्दा सरल छ बुझ्दा गहिरो ! कसैले फ्याट्ट सोधिहाले झ्याप्प भन्न सकिने यसको खास अर्थ छैन । माया न देखाउने चिज हो, न बताउने कुरा ।

नबोल्दा नबोल्दै, नदेखाउँदा नदेखाउँदै ‘महसुस’ हुने र गरिने एउटा विश्वास हो माया । हृदयगत अनुभव पनि हो माया ।

माया नै त्यस्तो चिज हो जसको जञ्जालमा संसारका सबै जेलिएका छन् । माया देखाउनु, बताउनु, बुझाउनु सबै–सबै थोक गर्नुअघि जरुरी छ मायालाई महसुस गर्नु । अनुभूत गर्नु … !

शब्दको घनत्वलाई संगीतको सिर्जनशीलताले महसुस गरेन भने शब्दहरु केवल शब्दमात्रै बन्छन्, भाव बन्दैनन् । भावना बन्दैनन् । संगीतको मर्म महसुस गर्न नसक्ने आवाजले स्वयं गीतकै गला रेटिदिन्छ ।

एउटा राम्रो गीत बन्नु अघि जरुरी छ गीतकार, संगीतकार र गायक स्वयंले एक अर्कोलाई महसुस गर्नु ।

 

महसुस गर्ने कुरा जटिल छ । जटिल कुरालाई व्यक्त गर्न झनै जटिल । यो जटिलतालाई सरलतामा लैजाने प्रयत्न गरेका छन्, नेपाली संगीतका त्रय हस्ती –गीतकार एकनारायण भण्डारी, संगीतकार आशिष अविरल र गायक प्रमोद खरेलले ।

यी तीन भाइको जोडी जम्दा आधुनिक नेपाली संगीत क्षेत्रमा थप केही भएको छ । नेपाली संगीतलाई माया गर्ने लाखौं दर्शक स्रोताहरुले त्यो महसुस गरेका छन् । रुचाएका छन् । चाहे त्यो सन् २०१७ मा सार्वजनिक ‘म बाँचेकै तिमीसँग….’ होस् चाहे सन् २०१९ को ‘यो कुरा गोप्य..’ नै किन नहोस् ? यी गितहरु पछिल्लो दशकमै स्रोता दर्शकले सर्वाधिक रुचाएका गीतहरु हुन् ।


‘म बाँचेकै तिमिसँग….’ बोलको गीत युट्युबमा हालसम्म करिब २ करोड ६५ लाख पटक हेरिएको छ । ‘यो कुरा गोप्य..’ त झन ४ करोड ७३ लाख पटक हेरिसकिएको छ । दर्शक स्रोताले यो सबै त्यसै हेरिदिएका, सुनिदिएका होइनन् । सम्भवत उनीहरुको कामलाई, मेहनतलाई महसुस गरेका हुन् ।

नेपाली सुगम संगीतका त्रिनेत्रको सहकार्य क्रम फेरि जोडिने भएको छ । करिब २ वर्ष लामो प्रतीक्षा पनि यी तीन हस्तीले पुनः नयाँ सहकार्य गरेका छन्, गीतबाटै । सहकार्यको उपहार नेपाली संगीत प्रेमीलाई सुम्पिन खोजेका छन्, ‘महसुस’बाटै

संसारैका शब्दले पुग्दैन मेरो माया भन्न
संसारैका अंकले पुग्दैन मेरो माया भन्न

आँखा चिम्म गर, मेरो माया हेर
तिमी कानै र थुन र मेरो माया सुन
अनुहारै पढ, मनको भाषा बुझ
मेरो मौनतामा डुब, शब्दमा के छ र ?

माया म देखाउन जानिन, महसुस गर ।
माया म बताउन जानिन, महसुस गर ।

गीतमा प्रेमको गहिराइ छ । अनुरोध र अभिव्यक्तिको उचाइ छ । प्रेमको दार्शनिक पक्षलाई सुक्ष्म ढंगबाट केलाइएको यो गीत मानिसहरुलाई एकै पटकमा प्रभावित गर्नेभन्दा पनि विस्तारै हृदयमा झंकार ल्याउने गरी परिश्रम गरेको संगीतकार आशिष अविरलको स्विकारोक्ति छ ।

गजलको मतला शैलीबाट धेरै प्रभावित गीतहरु बनिरहेको अवस्थामा मुखडा, क्रसलाइन र साइनलाइन समातेर तयार भएको गीतले कथा वाचनको नयाँ शैली बोकेको छ । अभिव्यक्तीलाई अथ्र्याउन र पुष्टि गर्न शैलीले सम्बन्ध सेतुको काम गरेको छ । यसर्थ, यो एक प्रयोगात्मक गीत पनि हो ।

मेलोडियस प्रेम गीत ‘महसुस’लाई दर्शक, सोताहरुले प्रेमपूर्वक महसुस गर्नेमा आफू आशावादी रहेको गायक प्रमोद खरेलको विश्वास छ । भन्छन्, ‘यो नेपाली संगीत क्षेत्रमा प्रयोगात्मक गीत हो । तर, यसको गहिराइ दर्शक, स्रोताले महसुस गर्ने विश्वास लिएको छु ।’

गीतमा मुकुन भुषाल र गरिमा शर्माको अभिनयले जीवन्तता प्रदान गरेको छ । अजय रेग्मीले छायांकन गरेको गीतलाई नवीन निरौलाले सम्पादकीय कैची चलाएका छन् । दिपक आचार्यको निर्देशनमा बनेको म्युजिक भिडियोले गीतको मूल मर्म महसुस गरेको छ ।

महसुस गर्ने कुरा जोर जबर्जस्तीमा पक्कै हुँदैन । स्रष्टाहरुले साधनाका साथ दर्शक, स्रोताको प्रेमलाई महसुस गरेरै यो गीत सार्वजनिक गरेका छन् । ‘महसुस’ गर्ने पालो अब दर्शक, स्रोताको !

 

प्रकाशित मिति २०७७ माघ १७ गते शनिबार ०९:३९
हजुरको प्रतिक्रिया