स्वास्थ्यकर्मी संक्रमित हुने क्रम रोकिएन
शुक्रबार बिहान पोखरामा थप १२ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
पोखरामा २ जना स्वास्थ्यकर्मी सहित थप १० जनालाई कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आज जारी गरेको दोस्रो विज्ञप्तीमा उल्लेख छ ।
यस अघि आजै पोखरामा २ जनालाई कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको थियो । पोखरा १० का २६ बर्षिय १ जना महिला तथा पोखरा १ का ६२ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टी भएको निर्देशनालयले जारी गरेको पहिलो विज्ञप्तीमा उल्लेख थियो ।
जारी विज्ञप्तीका अनुसार पोखराको मेट्रोसिटी अस्पतालमा कार्यरत ३२ वर्षीय स्वास्थ्यकर्मीलाई समेत कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मेट्रोसिटी अस्पतालमै उपचाररत ३५ वर्षीय महिलालाई समेत कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य निर्देशनालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
त्यस्तै, अन्य संक्रमितहरुमा पोखरा- ७ का २ जना पुरुष, पोखरा-१७ का १ जना पुरुष, २६ का २ जना महिला, २७ का २ जना पुरुष तथा पोखरा ३० का १ जना पुरुष रहेका छन् ।
यता, लमलुङमा थप ५ जनालाई कोरोना पुष्टि भएको छ । जिल्लाको बेसीसहर नगरपालिका ८ का २ वर्षीय बालिका सहित १ महिला र १ पुरुषलाई कोरोना पुष्टि भएको हो । त्यस्तै नगरपालिकाको वडा नम्बर ७ का १ जना तथा लमजुङ जिल्ला सामुदायिक अस्पतालमा कार्यरत १ जना स्वास्थ्यकर्मीलाई समेत कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
त्यस्तै पर्वतमा २ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको कुश्मा ३ का १ तथा ४ का १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
योसंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्यो २ हजार ७ सय ६४ पुगेको छ ।




