म्याग्दी ।
पछिल्लो समय मुस्ताङको प्रसिद्ध धार्मिक पर्यटकीय स्थल मुक्तीनाथमा धार्मिक पर्यटकको भिड अत्यधिक बढेको छ ।
मुक्तिनाथ मन्दिर स्वदेशी तथा विदेशी धार्मिक पर्यटकले भरिभराउ भएको छ ।

मुक्तिनाथ क्षेत्र विकास समितिका अनुसार अहिले दैनिक रुपमा करिब ४ हजार देखि ५ हजारको संख्यामा धार्मिक पर्यटक मुक्तीनाथ पुग्ने गरेका छन् ।
मौसम सफा भएकाले यसपालि मुक्तिनाथ मन्दिर दर्शन गर्ने तीर्थालु भक्तजनको संख्या बढेको हो ।

दसैँ तिहार बिदा सकिएपछि पर्यटकको संख्या विस्तारै घट्दै गएपनि कात्तिक महिनाको अन्तिम सातासम्म पनि विद्यालय तथा क्याम्पसका विद्यार्थीहरु उल्लेख्य मात्रामा मन्दिर दर्शन गर्न पुगेका छन् ।
देशका प्रयाजसो जिल्लाबाट भक्तजनहरु मुक्तिनाथमा पूजाआराधना र दर्शन गर्न पुगेका छन् ।

मुक्तिनाथ हिन्दू र बौद्ध धर्मावलम्बीको प्रसिद्ध तीर्थस्थल हो । मुक्तिनाथ मन्दिर परिसरमा रहेका एकसय आठ धारा र दुईवटा कुण्डमा भक्तजनले स्नान गर्दछन् ।
मुक्तिनाथ मन्दिर ३७ सय दश मिटर उचाइमा छ । मुक्तिनाथ विश्वकै प्रसिद्ध पदमार्ग ‘अन्नपूर्ण सर्किट’मा पर्छ । त्यसैले ट्रेकिङका लागि मुक्तिनाथ उत्तम मानिन्छ ।

प्रकाशित मिति २०८१ कात्तिक २८ गते बुधबार १०:२७




