काठमाडाै ।
रक्षामन्त्री मानवीर राईले नेपाली सेनाले विकास निर्माणका कामहरु प्रभावकारी रुपमा सम्पन्न गरिरहेको बताउनुभएको छ ।
मंगलवार रक्षा मन्त्रालयको चौमासिक प्रगति समिक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाली सेनाले फास्ट ट्र्याक, कोरिडोर निर्माण, विश्वविद्यालय निर्माण, चुरे संरक्षणका साथै विपद्मा राहत र उद्धारका कार्य समेत गरिरहेको बताउनु भयो । हाल नेपाली सेनाले तातोपानी क्षेत्रमा बेलीब्रिजहरु बनाइरहेको मन्त्री राईको भनाइ छ । उहाँले सिमिकोटमा तत्काल बाटो जोड्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट जिम्मेवारी दिइएको उल्लेख गर्दै सेनाको नेतृत्वमा रक्षा मन्त्रालयले उक्त काम गरिरहेको बताउनु भयो । उहाँले काठमाडौं–तराई मधेस जोड्ने दु्रतमार्गमा खोकना क्षेत्रमा देखिएका समस्याहरुको समाधान पूर्णरुपले नभइसकेको उल्लेख गर्दै छिटै भौगोलिक निरीक्षण गरेर निस्कर्षमा पुग्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘रक्षा मन्त्रालयको पहिलो काम नेपाल राष्ट्रलाई सुरक्षित राख्ने हो । तर नेपाल सरकारको विश्वासले रक्षा मन्त्रालय, नेपाली सेना पछिल्लो समय विकाससँग पनि जोडिएको छ । यसमा फास्ट ट्र्याकदेखि लिएर विभिन्न कोरिडोरहरु, विश्वविद्यालय बनाउने कुरा, चुरे संरक्षणको विषयदेखि लिएर, आपत विपद्मा राहत र उद्धारका कार्य समेत गरिरहेको छ । अहिले त बेलिब्रिजहरु जोड्ने, बाटो र सडकहरु खोल्ने कामहरु नेपाली सेनालाई दिने काम भएको छ । अहिले पनि नेपाली सेनाले तातोपानी क्षेत्रमा बेलीब्रिजहरु बनाइरहेको छ । सिमिकोटमा तत्काल बाटो जोड्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट जिम्मेवारी दिइएको छ । त्यो कामहरु पनि हामी गरिरहेका छौं । नेपाली सेनाले विश्वमा शान्ती कायम गर्नका लागि विभिन्न मुलुकमा काम गरिरहनुभएको छ ।’
विश्व शान्ती अभियानमा नेपाली सेनाले खेलेको भुमिकाको प्रशंसा गर्नुहुँदै मन्त्री राईले उक्त कामका लागि नेपाली सेनालाई धन्यावाद समेत दिनुभयो । उहाँले विकास निर्माणका महत्वपूर्ण कामहरु छिटोभन्दा छिटो सक्नुपर्नेमा सबै एकमत हुनुपर्ने बताउनु भयो ।
उहाँले भन्नभयो,‘विकास निर्माणका कामहरु सक्नुपर्नेमा हामी सबैको एकमत छ । अहिले त्रैमासिक प्रगतिसम्म आइपुग्दाखेरि हामी बाढी, पहिरो, डुबान लगायतका समस्याको बाबजुद पनि सकारात्मक कामहरु भएका छन् । अब विशेष चाडबाडहरु सकिएका कारणले अबको आउने तीन महिनामा रामो काम गर्नसक्ने मैले विश्वास लिएको छु । अबको सय दिनमा धेरैभन्दा धेरै काम गर्नसक्छौँ भन्ने मलाई पूर्ण विश्वास छ । यसका लागि हामी सबैको महत्वपूर्ण सहभागिता आवश्यक रहेको छ ।’
आफूले मन्त्रालय सम्हालेको पहिलो तीन महिनामा प्राकृतिक विपद् र चाडवाडका बाबजुद पनि सकारात्मक कामको थालनि भएको उल्लेख गर्दै उहाँले अबको सय दिनमा महत्वपूर्ण काम गर्ने दाबी गर्नुभयो ।
प्रकाशित मिति २०८१ मंसिर ४ गते मंगलबार ०४:१७




