पोखरा ।
गण्डकी विश्वविद्यालयको आयोजनामा पोखरा रंगशालामा भएको पहिलो खेलमा सबलाइम माध्यामिक विद्यालयले नेपाल आदर्शलाई २-० गोल अन्तरले पराजित गरेको छ । खेलको ३०औं मिनेटमा सौरभ परियारले गोल गर्दै सबलाइमलाई अग्रता दिलाएका थिए । ४४आंै मिनेटमा मनिष विकले गोल गर्दै सबलाइमलाई दोब्बर अग्रतामा पुर्याए । खेलको प्लेयर अफ द म्याच सबलाईमका सौरभ परियार घोषित भए ।
प्रतियोगिताको दोस्रो खेलमा राष्ट्रिय माविले अमरसिंह माविलाई १-० गोलले पराजित गरेको छ । पहिलो हाफ बराबरी भएको खेलमा दोस्रो हाफको इन्जुरी समयमा बिपिन मगरले गोल गरेको थिए । विपिन दोस्रो खेलको प्लेयर अफ द म्याच चुनिए ।
शान्ति निकुञ्ज र फिष्टेल एकेडेमीबीच भएको तेस्रो खेल पहिलो हाफमा कुनै गोल हुन सकेन् । फिष्टेलका प्रयुग भट्चनले गोल गर्दै टिमलाई अग्रता दिलाए । तर, उनले गोल गरेको १ मिनेटमै शान्ति निकुञ्जका विश्वास गुरुङले गोल गरेपछि खेल निर्धारित समयसम्म १-१ बराबरीमा टुङगियो । पेनाल्टी सुटआउटमा पुगेको खेलमा शान्ति निकुञ्जका गोल रक्षक आशिक गुरुङले उत्कृष्ट बचाउँ गर्दै खेल ४-३ अन्तरमा फिष्टेल एकेडेमी पराजय भयो । आशिक गुरुङ प्लेयर अफ द म्याच घोषित भए ।
प्रतियोगिताअन्तर्गत भोली ६ खेल हुँदैछन् । पुस ३ गतेसम्म चल्ने प्रतियोगितामा गण्डकी प्रदेशका २३ विद्यालयले सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार रुपैयाँसहित ट्रफि र मेडल प्राप्त गर्नेछन् । प्लेयर अफ द टुर्नामेन्टलाई ट्रफिसहित १५ हजारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
प्रकाशित मिति २०८१ मंसिर २९ गते शनिबार ०७:४६




