२०८३ असोज २५ गते आइतबार

उडानको अनुमतिकाे विषय स्थानीय तह र राष्ट्रिय निकुञ्जको होइन, कारबाही हुन्छः महानिर्देशक

उडानको अनुमतिकाे विषय स्थानीय तह र राष्ट्रिय निकुञ्जको होइन, कारबाही हुन्छः महानिर्देशक

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ पुस १६ गते मंगलबार ०४:३७

महानिर्देशक अधिकारीले हवाई उडान रोक्छु भन्ने शब्द पनि प्राधिकरणले सुन्न नसक्ने जिकिर गरे ।

काठमाडौं ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले स्थानीय तह र राष्ट्रिय निकुञ्जहरुले हेलिकोप्टर उडानमा रोक लगाए कारबाही गर्ने चेतावनी दिएका छन् ।

मंगलवार नेपाल नागरिक उड्डयन प्राधिकरणको २६ औं वार्षिकोत्सवको उपलक्ष्यमा प्राधिकरणको वार्षिक प्रगति विवरण प्रस्तुत गरिसकेपछि उठेका प्रश्नको जवाफ दिँदै महानिर्देशक अधिकारीले यस्तो चेतावनी दिएका हुन् ।

गत मंसिरमा सगरमाथा राष्ट्रिय निकुञ्जले निकुञ्ज क्षेत्रमा हेलिकप्टर उडान तथा अवतरणका कारण निकुञ्जको वन, वातावरण तथा वन्यजन्तुको सुरक्षा तथा वासस्थान संरक्षणमा थप चुनौति थपिएको भन्दै व्यावसायिक हेलिकोप्टर उडानमा रोक लगाएको थियो । सोही विषय सम्बन्धित रहेर उठाइएको प्रश्नको जवाफ दिँदै महानिर्देशक अधिकारीले नेपालमा हवाई उडानको अनुमति दिने वा नदिने विषय नागरिक उड्डयन प्राधिकरणले मात्रै दिनसक्ने बताए ।

उनले नियम विपरित र कार्य क्षेत्र विपरित काम भए नेपाल नागरिक उड्डयन प्राधिकरण २०५३ र गैरसैनिक हवाई उडान ऐन, २०१५ बमोजिम राज्यका कर्मचारी, जनताले निर्वाचित गरेका पदाधिकारीलाई कारबाही गर्ने चेतावनी दिए ।

उनले भने, ‘हेलिकप्टर उडानको विषयमा गम्भीर कुरा उठेको छ । नियमन गर्ने, मिलाउनुपर्ने कुराहरु छ । बसेर, सल्लाह गरेर मिलाउन सकिन्छ । तर यो कस्तो भयो भने काठमाडौंबाट कुनै डेस्टिनेशनमा उड्यो, तलका सबै वडा कार्यालयहरुले मेरो माथि ओभरफ्लाइटको पैसा लिनु भनेको जस्तो भयो के यो । नेपालमा हवाई उडानको होलसोल अथुरिटी भनेको सिभिल एभिएशन हो मात्रै त्यो निकाय हो जसले उडान अनुमति दिनसक्छ । जसले उडान अनुमति रोक्नसक्छ । अब यहाँ गाविसले, राष्ट्रिय निकुञ्जले यो गर्न थालेपछि त अब यो कसको काम के भन्नेकुरा थाहा भएन नि । मेरो अनुरोध छ, उहाँहरुलाई की नेपाल नागरिक उड्डयन प्राधिकरण २०५३ र गैरसैनिक हवाई उडान ऐन, २०१५ बमोजिम राज्यका कर्मचारी, जनताले निर्वाचित गरेका पदाधिकारीलाई कारबाही गर्ने बाटोतर्फ उहाँहरु जानुहुन्न भन्ने मेरो विश्वास हो ।’

महानिर्देशक अधिकारीले हवाई उडान रोक्छु भन्ने शब्द पनि प्राधिकरणले सुन्न नसक्ने जिकिर गरे ।

प्रकाशित मिति २०८१ पुस १६ गते मंगलबार ०४:३७

हजुरको प्रतिक्रिया