काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले पार्टी एकतालाई गम्भीरताका साथ नलिएसम्म नेकपा (माओवादी केन्द्र) सँग एकता नहुने बताएका छन् ।
मंगलवार काठमाडौंमा पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनका क्रममा बोल्दै महासचिव चन्दले एकताको विषयलाई गम्भीरताका साथ नलिएसम्म कुनैपनि क्रान्तिकारी शक्तिसँग एकता नहुने बताएका हुन् । उनले माओवादीसँगको पार्टी एकता सकियो भन्ने भ्रम फैल्याइएको भन्दै एकताका लागि गम्भीर रहेको खण्डमा पार्टी एकता हुने बताए ।
उनले नेकपाले लिएको एकताको पहलकदमीको आवश्यकतालाई अन्य कम्युनिष्ट पार्टीहरुले गम्भीरतापूर्वक नलिएको उल्लेख गरे । क्रान्तिकारीहरुको एउटा सही विचार, संगठनको ध्रुविकरण बनाउन आफूहरु लागेको उनले जिकिर गरे ।
उनले भने, ‘एकताको कुरा छ । बाहिरबाट हल्ला के भएको छ भने माओवादीसँगको एकता लर्बरियो रे, बन्द भयो रे, सिधियो रे भन्ने छ । त्यो कुरा होइन । हामीले भनेको कुरा के हो भने जुन गम्भीरतामा नेकपाले एकतालाई हेरेको छ र एकताको पहलकदमीको आवश्यकता ठानेको थियो, त्यो उचाईमा माओवादी केन्द्र वा अरु क्रान्तिकारी पार्टीको बीचमा गम्भीर भभएसम्म त्यो नहुँदासम्म हामीले सहकार्यलाई मोर्चामार्फत कायम राख्दै एउटा ध्रुविकरणतर्फ लैजाने भनेका हौँ । क्रान्तिकारीहरुको एउटा सही विचार, संगठनको ध्रुविकरण बनाउनुपर्छ भनेर लागेका हौँ ।’
महासचिव चन्दले बदलिएको सन्दर्भ, जनताको चाहना, जनताको सुझाव, पार्टीले गरिरहेको राजनीतिक अभ्यासको निस्कर्षबाट निर्वाचनमा भाग लिने निर्णय गरेको उल्लेख गरे ।
प्रकाशित मिति २०८१ पुस १६ गते मंगलबार ०४:५२




