काठमाडौं ।
नेकपा (एकीकृत समाजवादी) र नेता वामदेव गौतमको नेतृत्वमा रहेको एकता अभियानबीच पार्टी एकताको सैद्धान्तिक सहमति जुटेको छ ।
बुधवार नेकपा (एकीकृत समाजवादी) को पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा पार्टीका पदाधिकारी र एकता अभियानका संयोजक गौतमबीच भएको छलफलपछि गौतमले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले समझदारी विकास गर्नेबारेमा छलफल भएको र एकता हुन धेरै समय कुर्न नपर्ने उल्लेख गरे ।
उनले भने, ‘समझदारी विकास गर्नेबारेमा छलफल भयो । अब धेरै समय कुर्न नपर्ला पार्टी प्रवेशका लागि ।’
छलफलपछि बोल्दै एकता अभियानका संयोजक गौतम र पार्टीका पदाधिकारीबीच छलफल भएको र छलफल सकारात्मक रहेको बताए । उनले राजनीतिक, सैद्धान्तिक, वैचारिक विषयमा समेत छलफल भएको जिकिर गरे । एकतावद्ध भइ अघि बढ्नेबारे सैद्धान्तिक सहमति जुटेको जिकिर गरे ।
उनले भने, ‘एकता अभियानका संयोजक वामदेव गौतमसँग हाम्रो पार्टीका पदाधिकारीहरु बसेर छलफल ग¥यौँ । छलफल धेरै विषयमा भयो, राजनीतिक, सैद्धान्तिक, वैचारिक विषयमा छलफल भयो । एतावद्ध भएर अघि बढ्ने सन्दर्भमा छलफल भयो । वामदेव कमरेड र हाम्रो बीचमा छिटै एकतावद्ध भइ सँगसँगै अघि बढ्ने एक खालको सैद्धान्तिक समझदारी भएको छ । एकता अभियानमा रहेका वामदेव कमरेडसँगै धेरै योगदान गर्नुभएका नेताहरुको व्यवस्थापनका कुराहरु भएको छ । हामी यि विषयहरु छिटै टुंग्याउँछौँ ।’
उनले नेता भीम रावललाई पार्टीमा प्रवेश गराउनेबारेमा पनि छलफल भइरहेको जानकारी दिए । भीम रावललाई पार्टीमा स्वागत गर्न आफूहरु तयार रहेको उनको भनाइ थियो । भीम रावलसँगको छलफल पनि सकारात्मक रुपमा अघि बढिरहेको दाबी समेत गरे ।
प्रकाशित मिति २०८१ पुस १७ गते बुधबार ०५:२२




