काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भूमि सम्बन्धी अध्यादेश आज जारी हुने बताएका छन् ।
बुधवार बिहान बालुवाटारमा उद्योगी व्यवसायीले अध्यादेशका सम्बन्धमा दिएको धन्यवाद ज्ञापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अध्यादेश आज जारी हुने बताएका हुन् । उनले भूमि सम्बन्धी अध्यादेश जारी भएसँगै भूमि सम्बन्धित समस्या समाधान गर्ने उल्लेख गरे । प्रधानमन्त्री ओलीले सरकारको नेतृत्व गर्नेहरुले केही विकास गरौँ भन्ने इच्छाशक्ति नदेखाउँदा अहिलेको अवस्था आएको जिकिर गरे ।
उनले देशको अर्थतन्त्रलाई सम्पूर्ण क्षेत्रमा गतिशिल कसरी बनाउने ? भन्ने दिशामा सरकारले सोच्न जरुरी रहेको उल्लेख गरे । अध्यादेश ल्याएसँगै काँग्रेस र एमालेको सरकार चाँडै ढल्दैछ भन्ने जस्ता भ्रम फैल्याइएको प्रधानमन्त्री ओलीको भनाइ थियो ।
उनले सरकारले सकारात्मक दूरगामी महत्वका नीति निर्माण गरिरहेको उल्लेख गरे । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै प्रधामन्त्री ओलीले देश र जनताको मतलव नहुनेले राम्रा काम हुँदा पनि बिरोध मात्रै गरिरहेको जिकिर गरे । विकास, सुशासनका कामहरु नगर्ने र आफ्नो पिठो बिकाउने काममा मात्रै लाग्ने गरेको उनको टिप्पणी थियो ।
प्रधानमन्त्री ओलीले भने ‘सबैभन्दा बढी जनता र देशका लागि, विकासका लागि केही गराँै भन्ने इच्छाशक्ति सरकारमा कम हुनाले नै यस्तो भएको हो । त्यस इच्छा शक्तिले व्यवस्थापन पक्षलाई सही ढंगले चुस्त, दुरुस्त बनाउने र देशको अर्थतन्त्रलाई सम्पूर्ण क्षेत्रमा गतिशिल कसरी बनाउने ? त्यस दिशमा सरकारले सोच्नुपर्छ । त्यस कुरालाई नै हृदयंगम गरेर हामीले अहिले यि केही अध्यादेशहरु आएका छन् । यि अध्यादेशहरु कसरी आए ? एउटा बजार हल्ला छ, काँग्रेस र एमालेका नीति नमिलेर, विचार नमिलेर अब यो छिटै फुट्दैछ,सरकार छिटै ढल्दैछ, गिरिहाल्न आँट्यो यस्ता हल्ला छन् । सरकार आपसमा बसेर यस्ता सकारात्मक दूरगामी महत्वका नीति निर्माण गर्दैछ । प्रभावकारी ढंगले कदम चाल्दैछ । यस सन्दर्भमा म नेकपा एमाले, नेपाली काँग्रेसका नेताहरुलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु, आखिर देश बनाऔँ भन्ने भावना त सबैमा छ । केही मान्छे मात्रै हुँदा रहेछन्, जो आफ्ना स्वार्थका लागि देशको कुनै मतलव छैन, जतिबेला पनि अन्टसन्ट बोलिरहने । राम्रो काम गरेपनि केही छैन, उस्तै हो । नराम्रो काम गरे पनि उस्तै हो । तिनलाई बोल्नु छ, तिनलाई बिरोध गर्नुछ । तिनलाई आफ्नो पिठो बिकाउनु छ, त्यसका लागि हल्ला गर्ने । तर आम मानिसहरुको चाहना विकास, सुशासन हुन्छ । हामीले अहिले गरेका प्रयासहरु सुशासनसँग सम्बन्धित छन् । विकाससँग सम्बन्धित छन् । देशमा सुशासन भयो भने विकासमा ध्यान केन्द्रित गरेर विकासका लागि अनुकुल नीति र व्यवहारिक कदम चालियो भने असम्भव भन्नेकुरा छैन । यि केही अध्यादेश छन् । आज अर्को भूमि सम्बन्धी अध्यादेश पनि आउँछ । जसले भूमिमा भएका बेठिक खालका कतिपय कुराहरु छन्, ति कुराहरु नसुल्भिmएका समस्याहरु छन्, ति सुल्झाउन, कतिपय समस्या छन् । सरकरले पहिला आफैँ जग्गा किन्न दिन्छ, हाउजिङ गर्न दिन्छ, प्रशस्त घर बनाउन दिन्छ, अनि बनाइसकेपछि हद भन्दा बढी जग्गा किनेछु बेच्न त पाइँदैन भन्छ, घर बनाएर लटरम्म अंगुर फलेजस्तो घर फलेका छन्, बेच्न पाइँदैन ।’
प्रधानमन्त्री ओलीले अहिले रहेको अस्तव्यस्त बनाउने नीतिहरु सच्याउने प्रयासमा सरकार लागेको बताएका छन् ।
प्रकाशित मिति २०८१ माघ २ गते बुधबार १२:२७




