काठमाडौं ।
प्रतिनिधि सभा सदस्य योगेशकुमार भट्टराईले पाथीभरा केबलकार निर्माणका क्रममा भएको झडपमा घाइते भएकाको उपचारको व्यवस्था गरी अविलम्व वार्ताको माध्यमबाट समस्या समाधान गर्न माग गरेका छन् ।
बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ताप्लेजुङमा निर्माणाधिन पाथीभरादेवी मुकुम्लुङ केबलकार सम्बन्धमा धारणा सार्वजनिक गर्दै ताप्लेजुङ जिल्लाका सांसद भट्टराईले यस्तो माग गरेका हुन् । उनले लोकतन्त्रमा विरोध र असहमति राख्ने अधिकार सबैको भएको भएपनि शान्तिपूर्वक र सूसभ्य हुनुपर्ने बताए । उनले केवलकार निर्माण कम्पनी र स्थानीयको समस्याको समाधान वार्ता र संवादको माध्यमबाट गरिनुपर्ने उल्लेख गरे ।
परिस्थितिलाई उत्तेजित बनाउने र सामाजिक सद्भाव भड्किने खालका गतिविधिले कसैको हित नगर्ने भन्दै आन्दोलनरत पक्षलाई बन्द हड्तालका कार्यक्रम फिर्ता लिन आग्रह गरे । सरकारसँग पनि गिरफ्तार भएका व्यक्तिहरु रिहा गरी घाईतेहरुको उपचारको व्यवस्था गर्न माग गरे ।
सांसद भट्टराईले केबलकार कम्पनीबाट प्राप्त हुने सामाजिक उत्तरदायित्व कोष, राजश्व, स्थानीय कर लगायतका आर्थिक कोष परिचालनका लागि स्थानीय तहको नेतृत्वमा आन्दोलनकारीको समेत प्रतिनिधित्व हुनेगरी सर्वपक्षिय समिति निर्माण गर्नुपर्ने धारणा राखे ।
केबलकार निर्माण सम्बन्धमा अनुगमन गर्न अर्को समिति गठन गरी काम कारवाहीलाई सहभागीतामुलक तथा पारदर्शी ढंगले अघि बढाउन सांसद भट्टराईले माग गरे । उनले केबलकार कम्पनीले ताप्लेजुङका ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक तथा १० वर्षभन्दा मुनिका बालबालिका तथा अपाङ्गहरुका लागि निःशुल्क सेवा दिने घोषणा गर्नुपर्ने उल्लेख गरे ।
सांसद भट्टराईले प्रभावित क्षेत्रका नागरिकहरुलाई सुलभ शेयरको व्यवस्था गर्नुपर्ने जिकिर गरे । रोजगारीको क्षेत्रमा ताप्लेजुङवासीलाई पहिलो प्राथमिकता दिनुपर्ने उनले माग गरे । केबलकारको शुल्कमा ताप्लेजुङवासीलाई ५० प्रतिशत सहुलियतका साथै स्थानीय शिक्षा, स्वास्थ्य र रोजगारीमा कम्पनीले ध्यान दिनुपर्नेमा सांसद भट्टराईको भनाइ छ ।
पाथीभरा केबलकार निर्माणको कार्यलाई निर्वाध रुपमा अघि बढाउदै निर्माण कम्पनीले उपलब्ध गराउने सामाजिक उत्तरदायित्व कोष स्थापना गर्नुपर्ने सांसद भट्टराईले जिकिर गरे ।
उनले सरकारले थप बजेटको व्यवस्था गरी स्थानीय संस्कृतिका जगेर्ना र संवद्र्धनका लागि मुकुम्लुङ पार्क तथा संग्राहालय निर्माणका साथै धर्म र संस्कृतिको उत्थानका लागि विभिन्न क्रियाकलापहरु अघि बढाउन माग गरे ।
उनले भने, ‘लोकतन्त्रम विरोध र असहमति राख्ने अधिकारको म सम्मान गर्दछु। त्यो शान्तिपूर्वक र सूसभ्य हुनुपर्दछ । समस्याको समाधान बार्ता र संवादको माध्यमबाट गरिनुपर्दछ। परिस्थीतिलाई उत्तेजित बनाउने र सामाजिक सद्भाव भड्किने खालका गतिविधिले कसैको हित गर्दैन। यसका लागि आन्दोलनरत पक्षलाई बन्द हड्तालका कार्यक्रम फिर्ता लिन, सरकारलाई गिरफ्तार भएका व्यक्तिहरु रिहा गर्न, घाईतेहरुको उपचारको व्यवस्था गर्न माग गर्दै अविलम्व वार्ता गरी समस्यालाई समाधान गर्न माग गर्दछु । केबलकार कम्पनीबाट प्राप्त हुने सामाजिक उत्तरदायित्व कोष, राजश्व, स्थानीय कर लगायतका आर्थिक कोष परिचालनका लागि स्थानीय तहको नेतृत्वमा आन्दोलनकारीको समेत प्रतिनिधित्व हुनेगरी सर्वपक्षिय समिति निर्माण गर्न उपयुक्त हुनेछ । साथै केबलकार निर्माण सम्बन्धमा अनुगमन गर्न अर्को समिति गठन गरी काम कार्वाहीलाई सहभागीतामुलक तथा पारदर्शी ढंगले अघि बढाउनु पर्दछ । केबलकार पक्षले ताप्लेजुङका ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक तथा १० वर्षभन्दा मुनिका बालबालिका तथा अपाङ्गहरुका लागि निःशुल्क सेवा दिने घोषणा गर्नुपर्दछ। प्रभावित क्षेत्रका नागरिकहरुलाई सुलभ शेयरको व्यवस्था गर्नुपर्दछ । रोजगारीको क्षेत्रमा ताप्लेजुङवासीलाई पहिलो प्राथमिकता दिनुपर्दछ । केबलकारको शुल्कमा ताप्लेजुङवासीलाई ५० प्रतिशत सहुलियत दिनुपर्दछ स्थानीय शिक्षा, स्वास्थ्य र रोजगारीमा कम्पनीले ध्यान दिनुपर्दछ ।’
संघीय सरकार प्रदेश सरकार र स्थानीय तहबाट कानूनी प्रक्रिया पूरा गरेर पाथीभरा देवी मुकुम्लुङ केबलकार कम्पनीले ताप्लेजुङमा अवस्थीत पाथीभरामा केबलकार निर्माणको काम शुरु गरेको उल्लेख गरे । पाथीभराको मुख्य मन्दिर भन्दा करिव ८ सय मिटर बाहिर केबलकार स्टेशन निर्माण हुने उनको भनाइ छ ।
उनले पाथीभराको टुप्पोमा कुनै होटल वा रेष्टुरेण्ट नबन्ने र बन्न नदिने प्रतिवद्धता जनाए । रुख तथा पोल गरेर २ हजार ११२ कटान हुने भन्दै बाहिर प्रचार गरिए जस्तो २५ हजार रुख काट्ने हल्लामा कुनै सत्यता नभएको उनको भनाइ छ ।
प्रकाशित मिति २०८१ माघ १६ गते बुधबार ०३:३२




