२०८३ साउन २१ गते बिहीबार

अध्यादेशबाट जन्मिएको पार्टीले अध्यादेशकै विरोध गर्दा अचम्म लागिरहेको छः एमाले सांसद भट्टराई

अध्यादेशबाट जन्मिएको पार्टीले अध्यादेशकै विरोध गर्दा अचम्म लागिरहेको छः एमाले सांसद भट्टराई

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ माघ १८ गते शुक्रबार ०४:०२

अधयादेश जारी भएकै विषयमा विमति जनाउनुपर्ने कारण नरहेको उनले बताएका छन् ।

काठमाडौं ।

नेकपा (एमाले)का सांसद योगेश भट्टराईले अध्यादेशबाट जन्मिएका पार्टीहरुले नै अध्यादेशको विरोध गरिरहेको टिप्पणी गरेका छन् ।

शुक्रवारको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले नेकपा (एकीकृत समाजवादी)लक्षित यस्तो टिप्पणी गरेका हुन् । उनले अध्यादेशबाट पार्टी फुटाएर नयाँ पार्टी बनाउनेहरुले अध्यादेशको विरोध गर्नु अचम्म भएको टिप्पणी गरे ।

अध्यादेश ल्याउने वर्तमान सरकार मात्र नभई विगतमा समेत ल्याउने चलन रहि आएको उनले उल्लेख गरे । संसद नचलेको समयमा अध्यादेश जारी गर्नु नियमित प्रक्रिया भएकाले यसमा आपत्ति जनाउनुपर्ने कुनै कारण नभएको उनले जिरिक गरे ।

उनले भने, ‘नेपालमा अध्यादेश ल्याउने सरकार केपी ओली नेतृत्वको सरकारमात्रै होइन । आज विपक्षी बेन्चमा बसिरहनुभएका दलको नेता पुष्पकमल दाहाल प्रधानमन्त्री भएको बेलामा २०७९ पछि तीन पटक अध्यादेश ल्याउनु भयो । झन्डै १४ कानूनहरु संशोधन गर्नुभयो । ति मिटरब्याजको सम्बन्धमा पनि थिए । लगानी सम्मेलनको पूर्वसन्धयामा अध्यादेश आएको थियो । यो त नियमित प्रक्रिया हो नि त । त्यसैले अध्यादेशको प्रक्रियामा कसैले विमति जनाउनुपर्ने जस्तो लाग्दैन । कन्टेन्टमा केही विमति भए छलफल गरौंला । प्रतिस्थापन विधेयकमा संशोधन प्रश्ताव राख्नुस् त्यसमा हामी छलफल गर्न तयार छौं । २०७८ सालमा जम्मा १६ वटा अध्यादेश आएको रहेछ । त्यसबेला अध्यादेशबाट पार्टी फुटाइएको थियो । गजब कुरा त के छ भने जुन पार्टी अध्यादेशबाट बनाइएको थियो । त्यही पार्टी आज अध्यादेश गलत भन्दै छ । अध्यादेशबाट जन्मिएको छ । अध्यादेश ठिक छैन भनिरहेको पनि छ । यो के हुन लागेको हो अचम्म नै भइरहेको छ ।’

अध्यादेशमा भएका कमजोरिहरुलाई सुधार गर्नुपर्ने भए आवश्यक छलफल गर्न सकिने तर अधयादेश जारी भएकै विषयमा विमति जनाउनुपर्ने कारण नरहेको उनले बताएका छन् ।

प्रकाशित मिति २०८१ माघ १८ गते शुक्रबार ०४:०२

हजुरको प्रतिक्रिया