काठमाडौं ।
उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले देशको समग्र विकास गर्ने सशक्त माध्यम राजनीति भएको बताएका छन् ।
शनिवार विश्व निकेतन माध्यामिक विद्यालयको ७९ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले राजनीतिमा लाग्ने मान्छे समाजकै काम नलाग्ने मान्छे हो भन्ने किसिमले भाष्य सिर्जना गरिएको भन्दै त्यसलाई चिर्न सक्नुपर्ने बताएका हुन् ।
उनले अरुको लहलहैमा लाग्नु भन्दा सही र गलत छुट्याएर चुन्नुपर्ने बताए । उनले सेवा गर्नको लागि सबैभन्दा राम्रो माध्यम पनि राजनीति भएको उल्लेख गरे ।
आफू सेवा दिनकै लागि राजनीतिमा आएको उनले जिरिक गरे । विदेशमा ठूला ठूला काण्ड गरेर ठूलो नेता बन्छु भन्दै राजनीतिमा लाग्ने गरेको पनि उनको भनाइ छ ।
उनले भने, ‘अहिले मान्छेहरुलाई कस्तो लाग्छ भने यो राजनीति गर्ने मान्छेहरु सबै समाजको काम नलाग्ने मान्छेहरु मात्रै राजनीतिमा लाग्छ भन्नेखालको भाष्य डेभलप गर्न खोजिरहेको छ । त्यसमा तपाईंहरु सबैले के बुझ्नुप¥यो भने संसारमा पठाउँदा नै विवेक बुद्धि भगवानले दिएको छ । सही र गलत छुट्याउन कसैले भन्यो भन्दैमा त्यसैको लहलहैमा लाग्नु हुँदैन । कुनै आधार नसोचि लाग्नु हुँदैन । राजनीति क्षेत्रबाट देशको समग्र विकास गर्नसक्ने सशक्त माध्यम राजनीति हो । सेवा गर्नको लागि सबैभन्दा राम्रो माध्यम पनि राजनीति हो । सेवा दिनकै लागि म राजनीतिमा लागेको हो । यहाँ अनेकौँ मान्छेहरु आउँछन् । चटकेहरु पनि आउँछन् । विदेशमा गएर ठूलोठूलो काण्ड गरेर नेपाल फर्किएर अनि ठूलो नेता बन्नका लागि मान्छेहरु नआएका होइनन् । आइराख्छन् । तपाईंहरु छान्ने काममा चुक्नुभयो भने हामीले प्राप्त गरेका अधिकारहरु सुरक्षित र संवद्र्धित गरेर त्यसको आधारमा लैजानुपर्छ । त्यसका लागि जनताले छानेको प्रतिनिधि हुनुपर्छ ।’
उपप्रधानमन्त्री सिंहले विद्यार्थीले मेहनतका साथ अध्ययन गर्नुपर्ने बताएका छन् ।
प्रकाशित मिति २०८१ माघ १९ गते शनिबार ०३:१३




