काठमाडौं ।
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले निकट भविष्यमा नै मन्त्रालयभित्र युवामैत्री कक्षको व्यवस्था गरिने आश्वासन दिएका छन् ।
न्युज एजेन्सी नेपालले गरेको ‘मन्त्रीसँग युवा’ कार्यक्रममा सहभागी अधिकांश युवाहरुले मन्त्रालयभित्र युवा जलवायु अभियन्ताहरुका सुझाव, गुनासो तथा नविनतम आविष्कारलाई सम्बोधन गर्नेगरी छुट्टै संयन्त्र राख्न अनुरोध गरेपछि मन्त्री शाहीले छिट्टै त्यस किसिमको व्यवस्था मिलाइने बताएका हुन् । उनले यथार्थमा हरित शहर बनाउने विषयमा आफ्नो ध्यानाकर्षण भएको उल्लेख गर्दै मन्त्रालय त्यसको गृहकार्यमा जुट्ने बताए ।
उनले ४० माइक्रोन भन्दा कमको प्लाष्टिकलाई प्रतिवन्ध लगाइएकाले अहिले सिंहदरबार प्लाष्टिक मुक्त बनेको उल्लेख गरे । बिस्तारै काठमाडौंलाई नै प्लाष्टिकमुक्त राखिने उनले जिकिर गरे ।
वन डढेलो नियन्त्रण, खडेरीमा सिंचाईको वैकल्पिक व्यवस्था लगायत युवाहरुले उठाएका सवालहरुमा मन्त्रालयको ध्यान आकर्षित भएको उल्लेख गर्दे आवश्यकताअनुसार सम्बन्धित निकायसँग सहकार्य र समन्वय गरेर अघि बढ्ने उनले स्पष्ट पारे ।
उनले भने, ‘४० माइक्रोन भन्दा कमको प्लाष्टिकलाई प्रतिवन्ध लगाइएको छ । त्यसैले अहिले सिंहदरबार प्लाष्टिकमुक्त बनेको छ । विशेष गरी काठमाडौं उपत्यकाकालाई नै प्लाष्टिकमुक्त बनाउन महानगरपालिका, वन तथा वातावरण मन्त्रालय लगायत संवद्ध सबैको प्रयास भएको छ । नीति कार्यान्वयन गर्ने प्रक्रियामा हामी छौ । वन तथा वातावरण मन्त्रालयमा युवामैत्री कक्ष होस् भन्ने कुरामा निकट भविष्यमा नै व्यवस्था गरिने विश्वास दिलाउन चाहन्छु । हरित शहर बनाउने विषयमा ध्यानाकर्षण भएको छ । हामी त्यतातिर अघि बढ्नेछौँ । वन डढेलो नियन्त्रण , खडेरीमा सिंचाईको वैकल्पिक व्यवस्था सम्बन्धमा सबै निकाय सजग र शतर्क छौँ । हाम्रो ध्यान गएको छ ।’
मन्त्रीसँग युवा कार्यक्रममा झन्डै २० जना युवा जलवायु अभियन्ताले प्रश्न गरेका थिए ।
प्रकाशित मिति २०८१ माघ २१ गते सोमबार ०२:१९




