पोखरा ।
अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा अन्नपूर्णका प्रथम आरोही मौरिस हर्जाेगको स्विटजरल्यान्डमा रहेको आइस एक्स ल्याइने भएको छ ।
पोखरा महानगरपालिका वडा नम्बर १७ रातोपहिरोमा रहेको उक्त संग्रहालयमा आइस एक्स ल्याउन लागिएको सङ्ग्रहालयको सञ्चालक नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष निमानुरु शेर्पाले जानकारी दिए ।
सङ्ग्रहालयको २२ औं स्थापना दिवसको अवसरमा बुधबार भएको कार्यक्रममा अध्यक्ष शेर्पाले यसपालिको अन्नपूर्ण दिवस अर्थात् ३ जुनमा स्विस म्युजिमबाट मौरिसको आइस एक्स हस्तान्तरण हुन लागेको बताएका हुन् । मौरिसले लुइस लाचेनलसँग मिलेर सन् १९५० मा अन्नपूर्णको आरोहण गरेका थिए ।
कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीले इच्छाशक्ति र योजना भए प्रगति असम्भव नहुने बताए । साहित्यकार सरुभक्तले हिमालको अस्तित्वलाई जीवनसँग तुलना गरे ।
सङ्ग्रहालयकी कार्यकारी निर्देशक निर्मलाकुमारी न्यौपानेले बुधबारबाटै पाटन सङ्ग्रहालय र राष्ट्रिय अभिलेखालयसँगको सहकार्यमा ‘कुमारीचोक’का फोटो प्रदर्शनीसमेत सुरु भएको बताइन् ।
२२ वर्षमा २९ लाख १९ हजार पाँच सय ४३ जनाले टिकट काटेर सङ्ग्रहालय अवलोकन गरेका छन् । स्वदेशी तथा विदेशी उच्च पदस्थ करिब दुई लाखले निशुल्क सङ्ग्रहालय हेरेको रेकर्ड छ । यो बिचमा पाँच लाख त्रिहत्तर हजार विदेशी यहाँ आएका छन् ।
प्रकाशित मिति २०८१ माघ २३ गते बुधबार ०६:५६




