२०८३ असोज २५ गते आइतबार

पाउँदीको नवनिर्मित प्रहरी चौकी भवन समुद्घाटन

पाउँदीको नवनिर्मित प्रहरी चौकी  भवन समुद्घाटन

विराट न्यौपाने 

@Public 4K Tv

२०८१ फागुन २६ गते सोमबार ०३:३२

कुल २ करोड २८ लाख ४३ हजार ४७६ रुपैयाँ लागतमा निर्माण भएको प्रहरी चौकी भवन ३ रोपनी १ आना ३ दाम क्षेत्रफलमा फैलिएको छ ।

लमजुङ ।

लमजुङको सुन्दरबजार नगरपालिका–७, पाउँदीस्थित प्रहरी चौकीको नवनिर्मित भवन सोमबार एक कार्यक्रमका बीच समुद्घाटन गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि प्रहरी प्रधान कार्यालय, भौतिक पूर्वाधार निर्देशनालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (प्र. ना. म.) ई. फणिन्द्र बरालले भवन समुद्घाटन गर्दै शिलालेख अनावरण तथा भवनको अनुगमन गरेका हुन् ।

समुद्घाटन समारोहमा प्रमुख अतिथि बरालले प्रहरी चौकीको भवन स्तरीय र आधुनिक हुनु आवश्यक रहेको बताउँदै प्रहरी सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन पूर्वाधार बलियो हुनुपर्ने धारणा राखे । उनले भने, “नयाँ भवनबाट प्रहरी सेवामा सहजता आउँछ। नागरिक र प्रहरीबीचको सम्बन्धलाई अझ मजबुत बनाउन यसले महत्त्वपूर्ण योगदान गर्नेछ ।’ उनले नेपाल प्रहरी सेवा प्रवाह सुधारका लागि पूर्वाधार विकासमा विशेष ध्यान दिइरहेको उल्लेख गरे ।

कार्यक्रममा सुन्दरबजार नगरपालिका – ७ का अध्यक्ष जयराम रेग्मीले भवन निर्माणले नगरको सुरक्षालाई अझ प्रभावकारी बनाउने बताए । सुन्दरबजार नगरपालिकाका पूर्व नगर प्रमुख जनकराज मिश्रले प्रहरी संरचनाको विकासलाई स्थानीय सरकारले प्राथमिकता दिनुपर्ने उल्लेख गरे । लमजुङका प्रमुख जिल्ला अधिकारी बुद्ध बहादुर गुरुङले प्रहरी सेवाको प्रभावकारिता बढाउन यस्ता पूर्वाधार आवश्यक रहेको बताउँदै सुरक्षाका विषयमा कुनै सम्झौता गर्न नहुने उल्लेख गरे । प्रमुख अतिथि प्र. ना. म. ई. फणिन्द्र बरालले भवन निर्माणमा योगदान पुर्याउने व्यक्तिहरूलाई प्रशंसा पत्र प्रदान गरे ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक अभिषेक पाण्डेले स्वागत मन्तव्य दिएका थिए । कार्यक्रममा पूर्व प्रहरी तथा स्थानीय लक्ष्मी प्रसाद मिश्रले स्वागत कविता वाचन गर्नुभएको थियो। प्रहरी चौकी भवन निर्माणका सम्बन्धमा प्रदेश प्रहरी कार्यालयका प्र. ना. उ. ई. ध्रुब अधिकारीले प्रतिवेदन प्रस्तुत गर्दै भवन निर्माणका मुख्य पक्षहरूबारे जानकारी दिए ।

कार्यक्रमको अन्त्यमा जिल्ला प्रहरी कार्यालय लमजुङका निमित्त प्रमुख प्रहरी निरीक्षक चोनु गुरुङले धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गरेका थिए । कार्यक्रममा स्थानीय पूर्व प्रहरी, पत्रकार, जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका नेता तथा स्थानीय नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । नवनिर्मित प्रहरी भवनले पाउँदी प्रहरी चौकीलाई थप व्यवस्थित बनाउने तथा स्थानीय नागरिकलाई छरितो सेवा प्रदान गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

कुल २ करोड २८ लाख ४३ हजार ४७६ रुपैयाँ लागतमा निर्माण भएको प्रहरी चौकी भवन ३ रोपनी १ आना ३ दाम क्षेत्रफलमा फैलिएको छ । भवन निर्माण भएपछि प्रहरी सेवा सञ्चालन गर्न थप सहज हुने विश्वास गरिएको छ। कार्यक्रमको अध्यक्षता जिल्ला प्रहरी कार्यालय लमजुङका निमित्त प्रमुख प्रहरी निरीक्षक चोनु गुरुङले गरेका थिए ।

प्रकाशित मिति २०८१ फागुन २६ गते सोमबार ०३:३२

हजुरको प्रतिक्रिया