पोखरा ।
मुल्डे भ्यु पदमार्गका समस्या सम्बन्धित निकायमा पुर्याइदिन स्थानीय पर्यटन व्यवसायीले पोखराका महिला पर्यटन व्यवसायीलाई आग्रह गरेका छन् ।
पोखराको महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)को टोलीसँग मुल्डे भ्यु पार्क पर्यटन व्यवसायी समितिका अध्यक्ष राजमान गुरुङले उक्त आग्रह गरेका हुन् । पदमार्गमा खानेपानीको समस्या टड्कारो परेको उनले बताए ।
अन्नपूर्ण क्षेत्रमा नयाँ पदमार्गका रुपमा स्थापित मुल्डे भ्यु पदमार्गका केही ठाउँमा रेलिङ हालेर पदयात्रा सुरक्षित गर्न सरकारले सहयोग गर्नुपर्ने उनले बताए । पोखराबाट ३ दिनमा समुन्द्री सतहदेखि ३६३७ मिटर उचाइमा रहेको मुल्डे भ्यु पार्क पुग्न सकिन्छ । मुल्डे भ्यु पार्कबाट सबैभन्दा नजिकको होटल रहेको स्थान दोबाटोबाट त्रिवेणी ताल (हिडन लेक) खोप्रो, छोमरोङ हुँदै अन्नपूर्ण बेस क्याम्प, घोरेपानी–पुनहिल लगायतका स्थानमा पदयात्रा गर्न सकिन्छ ।
उक्त पदमार्गमा नेपाली भन्दा विदेशी पदयात्री बढेको भन्दै मुल्डेबाट खोप्रो र त्रिवेणी ताल जान मन पराएको अध्यक्ष गुरुङले बताए । पोखराबाट ५ दिनको पदयात्रामा खोप्रो वा त्रिवेणी ताल पुग्न सकिने उनको भनाई छ ।
गण्डकी प्रेदसको भौतिक पूर्वाधार तथा पर्यटन मन्त्रालयबाट घान्द्रुक–टाढापानी हुँदै मुल्डे पदमार्ग मर्मत गर्न ३० लाख रुपैया सहयोग भएका उनले बताए । उक्त बजेटबाट पदमार्गका केही ठाउँ मर्मत सम्भार भए पनि पर्याप्त नभएको गुरुङले बताए । ओटेफका सल्लाहकार निर्मला कँडेलले मुल्डे पदमार्ग अन्य स्थापित पदमार्ग भन्दा कम नरहेको बताइन् ।
पदमार्गको प्रवद्र्धन आवश्यक रहेको भन्दै उनले राजनीतिक नेतृत्वले पदमार्गका व्यवसायीका समस्या सुन्न नचाहेको बताइन् । लामो या छोटो दुबै पदयात्रा गर्न चाहने पर्यटकका लागि शान्त र उपयुक्त गन्तव्य मुल्डे पदमार्ग बन्ने उनले बताइन् । मुल्डे पदमार्ग जान कास्कीको घान्द्रुक गाउँबाट टाढापानी, मेसर हुँदै दोबाटो पुग्न सकिन्छ । यस्तै, घान्द्रुक हुँदै चुइले, टाढापानी हुँदै पनि दोबाटो–मुल्डे पदयात्रा गर्न सकिन्छ ।
मोटरबाटो र भीडभाड भएका पदमार्ग भन्दा यो पदमार्ग शान्त र सुन्दर रहेको ओटेफकी पूर्व अध्यक्ष पार्वती पाण्डेले बताइन् । पोखराबाट मुल्डे भ्यु प्वान्ट पदयात्रा गरेका ओटेफका टोलीले घान्द्रुक, टाढापानी र छोमरोङका पर्यटन व्यवसायीसँग स्थानीय समस्या र समाधानका उपायका बारेमा छलफल गरेका थिए ।
टाढापानीस्थित होटल ग्राण्ड भ्यु लजकी संचालक रामकुमारी गुरुङले महिला पर्यटन व्यवसायी पदमार्गको प्रवद्र्धनमा हिडेको देखेर खुशी व्यक्त गरिन् । उनले टाढापानीमा खानेपानी र लघु जलविद्युतबाट विजुली निकाल्न स्थानीय महिला व्यवसायीले सक्रिय अगुवाई गरेको स्मरण गरिन् ।
मुल्डे भ्यु पार्क पर्यटन व्यवस्थापन समिति अध्यक्ष गुरुङले राखेका समस्या संवन्धित निकायमा पु¥याउन ओटेफकी अध्यक्ष उमा रेग्मी भण्डारीले बताइन् ।
गण्डकी प्रदेश सांसद देवका पहारीले ओटेफले पर्यटन प्रवद्र्धन गर्न साहसिक काम गरेको बताएकी थिइन् ।
प्रकाशित मिति २०८१ फागुन ३० गते शुक्रबार ०७:२१




