काठमाडौं ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले क्षयरोगको न्युनिकरण गर्न सरकारले प्राथमिकताहरु बदलेर प्रभावकारी ढंगले अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।
सोमवार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सरकारले यसको न्युनिकरणका लागि आफ्ना अहिलेसम्मका प्राथमिकताहरु बदलेर नयाँ र प्रभावकारी ढंगले अघि बढ्नुपर्ने जरुरी देखिएको बताए । उनले यसको निदानका लागि मित्रराष्ट्रसँग सहकार्य गर्ने साझा नीति अवलम्वन गर्न जरुरी रहेको बताए । खर्च गर्ने तर शतप्रतिशत उपलब्धि हाँसिल नभइरहेको अवस्था रहेको भन्दै शतप्रतिशत उपलब्धि हाँसिल गर्ने गरी हामीले नीतिगत व्यवस्था गर्न आवश्यक रहेको उनको भनाई थियो । उनले क्षयरोग केन्द्रमा पनि सम्पूर्ण सेवाहरु उपलब्ध हुने अस्पताल सञ्चालन गर्न जरुरी रहेको र त्यसका लागि आगामी आर्थिक वर्षको बजेटमा व्यवस्था गरिने प्रतिवद्धता समेत जनाए ।
मन्त्री पौडेलले क्षयरोगको बिरामी मन्त्रालय, चिकित्सकले खोजेर नभेटिने भन्दै पालिकाले क्षयरोगको बिरामी खोज्नुपर्ने पनि उल्लेख गरे । क्षयरोग पत्ता लगाउन स्थानीय तहलाई सक्रिय बनाउनुपर्नेमा समेत उनले जोड दिए ।
प्रकाशित मिति २०८१ चैत १० गते सोमबार १०:५९




