कुनै कर्मचारीको विषयलाई लिएर सदन अवरुद्ध गर्न नहुने जिकिर
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दलहरुले प्रतिस्थापन विधेयक पास हुन नदिनको लागि सदन अवरुद्ध पारेको बताएका छन् ।
बिहीवार आठौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले प्रतिपक्षले अनावश्यक ‘ननइस्यु’लाई ‘इस्यु’ बनाएर सदन अवरुद्ध पारिएको बताए ।
उनले सरकारले ल्याएका प्रतिस्थापन विधेयकहरु यही चैत १८ गते भित्र राष्ट्रपतिबाट हस्ताक्षर गर्नुपर्ने भएको कारण कुनै कर्मचारीको विषयलाई लिएर सदन अवरुद्ध गर्न नहुने जिकिर गरे ।
प्रतिपक्षले सदनमा अवरोध कायमै राखे मुलुक फेरि कानूनविहिनतामा अगाडि बढ्ने उनकोतर्क छ ।
उनले विद्युत प्राधिकरणको विषयमा गाली नगर्नुपर्नेलाई झुटो गाली र प्रशंसा नगर्नुपर्नेलाई झुटो प्रशंशा गरिएको समेत बताए ।
उनले भने, ‘ननइस्युलई इस्यु बनाएर संसद चल्न नदिनु । अध्यादेशहरु यो १८ गतेभित्र राष्ट्रपतिबाट हस्ताक्षर भएनन् भने त्यो असफल हुन्छ । फेरि कानूनविहिनतामा देश पस्छ । यो दुई महिनामा हामीले कानून अगाडि बढाइसकेका थियौं । फेरि कानून बिहिनतामा देश पस्छ भन्ने कुरा बुझिकन अदालतालाई दवाव दिनका लागि एउटा कर्मचारीका पक्षमा के के न अन्याय भयो भनेर झुटो प्रशंसा र झुटो गाली गर्ने काम गरियो । गाली नगर्नुपर्नेलाई झुटो गाली र प्रशंसा नगर्नुपर्नेलाई झुटो प्रशंसा गरियो । उहाँको बारेमा के गफ हुन यस्तो त उपन्यास पनि हुँदैन ।’
प्रतिपक्षी दलहरुले जानी जानी मुलुकलाई कानूनहरुबाट भ्याकुममा राख्ने काम गरिएको उनले टिप्पणी गरे ।
प्रकाशित मिति २०८१ चैत १३ गते बिहीबार ०३:३२




