लमजुङ ।
नेपाल पत्रकार महासङ्घ लमजुङ शाखाले शुक्रबार काठमाडौँमा समाचार सङ्कलनका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजक र सञ्चारमाध्यममाथि भएको आक्रमणको विरोधमा प्रदर्शन गरेको छ ।
आज महासङ्घ लमजुङ शाखाले बेशिसहर भिमसेनस्थानमा विरोध प्रदर्शन गरेको हो । प्रदर्शनपछि आयोजित सभामा महासङ्घका केन्द्रीय सदस्य कृष्ण केसीले घटनाका दोषीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न सरकारसँग माग गरे । उनले प्रेस स्वतन्त्रता कुण्ठित गर्ने कुनै पनि गतिविधि स्वीकार्य नहुने बताए ।
महासङ्घ लमजुङ शाखाका अध्यक्ष सन्देश पौडेलले सञ्चारमाध्यममाथिको आक्रमण गम्भीर अपराध भएको उल्लेख गर्दै सरकार र सम्बन्धित निकायले दोषीलाई यथाशीघ्र कानुनी कठघरामा ल्याउनुपर्ने उल्लेख गरे । उनले पत्रकारहरूको सुरक्षाका लागि ठोस कदम चाल्न पनि आग्रह गरे ।
विरोध सभामा महासङ्घका निवर्तमान अध्यक्ष परमेश्वर अधिकारी, पूर्व केन्द्रीय सदस्य नवीनराज कुइकेल, पूर्व अध्यक्ष आश गुरुङ, जिल्ला सल्लाहकार अनुज अधिकारी लगायत जिल्लाका पत्रकारहरूको उपस्थिति थियो ।
प्रदर्शनमा सहभागीहरूले ‘पत्रकार सुरक्षाको ग्यारेन्टी गर’, ‘पत्रकार सुरेश रजक प्रति हार्दिक श्रद्धाञ्जली, प्रेस माथिको आक्रमण निन्दनिय छ, पत्रकारको जिउ ज्यानको सुरक्षा ग्यारेन्टि गर, हत्यारालाई कारबाही गर’, ‘प्रेस स्वतन्त्रता कायम गर’, जस्ता नारा लेखिएका प्ले कार्ड बोकेका थिए ।
नेपाल पत्रकार महासङ्घ लमजुङ शाखाले पत्रकार रजकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ ।
प्रकाशित मिति २०८१ चैत १५ गते शनिबार ०८:०१




