पोखरा ।
गण्डकी प्रदेशका सामाजिक विकाश, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले सरकारी सेवा सुविधा (तलब भत्ता) विकास निर्माणदेखि विभिन्न सामाजिक कार्यमा खर्च गरेका छन् ।
मन्त्री थापाले विकास, निर्माण र सामाजिक कार्यमा १० लाख १ हजार ३२४ रुपौया खर्च गरेका हुन् ।
गण्डकी प्रदेश सांसदमा दोस्रो कार्यकालका लागि निर्वाचित भएका थापाले एक वर्ष (२०८० फागुन देखि २०८१ माघसम्म) पाएको पारिश्रमिक आफ्नो क्षेत्रको विकास निर्माणदेखि सामाजिक कार्यमा खर्च गरेको रकम सार्वजनिक गरेका हुन् ।
मन्त्री थापाले खानेपानी, स्वास्थ्य उपचार, सामाजिक भवन, खेलमैदान, छात्रवृत्ति लगायत गरिब असहायलाई व्यक्तिगत रुपमा समेत आर्थिक सहयोग र व्यवसायिक बन्न मेसिन, औजार सहयोग गरेको जानकारी दिए ।
कास्की निर्वाचन क्षेत्र नम्बर २ (ख) नेपाली कांग्रेसबाट दोस्रो पटक निर्वाचित थापाले तलब, भत्ता बाहेक पनि थप रकम सामाजिक कार्यमा खर्च गरेको मंगलबार पोखरामा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेका हुन् ।
गण्डकी प्रदेश सभा सदस्यमा निर्वाचित भए पछि थापाले आफुले पाउने सेवा सुविधा निर्वाचन क्षेत्रको विकास निर्माण र सामाजिक कार्यमा खर्च गर्ने घोषणा गरेका थिए । पहिलो कार्यकालमा पनि सांसदले पाउने तलब भत्ता विकास निर्माणमा नै खर्च गरेका सांसद थापाले दोस्रो कार्यकालमा पनि निरन्तरता दिएका छन् ।
पहिलो कार्यकाल र दोस्रो कार्यकालको दोस्रो वर्ष पुरा गर्दा करिब ८० लाख रुपैया सांसद र मन्त्रीको रुपमा सुविधा प्राप्त भएको र उक्त रकम सबै निर्वाचन क्षेत्रको विकासमा खर्च गरेको थापाले बताए ।
प्रकाशित मिति २०८१ चैत १८ गते मंगलबार १२:१२




