वर्षको अन्तिम मंगलबार, तमु (गुरुङ) हरुले आफ्नो मौलिक तथा सांस्कृतिक पर्व ट्होटें पर्व देशभर हर्षोल्लासपूर्वक मनाउँदैछन् ।
तमु धिं नेपालको अगुवामा कास्कीसँगै आसपासका जिल्लाबाट आएका गुरुङहरुले पोखरामा भेला भएर सामूहिक रूपमा यो पर्व मनाएका हुन्। वर्षको दुईपटक साउन र चैत्र महिनाको अन्तिम मंगलबार यो पर्व मनाउने गरिन्छ। साउनमा उधौली र चैत्रमा उभौली ट्होंटे मनाउने परम्परा रहेको छ।
ट्होटें पर्व कास्की, पर्वत, तनहुँ, स्याङ्जालगायतका गण्डक क्षेत्रसहित देशभर छरिएका सबै गुरुङहरुले मनाउने गर्छन् ।
उक्त दिन तमु राज्यमा बसोवास गर्नेहरुले राज्यभित्र देखिएका बैरी वा शत्रुहरुलाई राज्यको सिमा कटाउदै ट्हो संरक्षण गरेको परम्परागत इतिहास भएको मानिन्छ । गुरुङ भाषामा ट्हो को अर्थ तमु भाषामा राज्य वा गाउबस्ती हुन्छ भने टें को अर्थ राज्यबाट बैरी वा शत्रु धपाउने भन्ने हुन्छ ।
ट्होटेंको अवसरमा तमु धिँ नेपालले आज ट्होटें र्यालीसहित विविध कार्यक्रम गर्दैछ । पोखरामा मौलिक पोशाक, झाँकी, बाजागाजा, साँस्कृतिक प्रस्तुतिसहित तमु अधिकार माग गर्दै ्याली गर्ने तमु धिँले जनाएको छ ।
पर्वको अवसरमा तमु जातिको मौलिक सँस्कृतिहरु ट्होटें, घाँटु, सोरठी, झोडा, चुट्का, कृष्ण चरित्र प्रदर्शन लगायतका कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
तमु धिँ नेपालको पहलमा कस्केली तमुहरुले साउन र चैत महिनाको अन्तिम मंगलवार पोखरामा २०५२ सालदेखि सामुहिकरुमा ट्होटें मनाउदै आएको हो ।
प्रकाशित मिति २०८१ चैत २५ गते मंगलबार १२:४०




