पोखरा ।
नेपाल सुपर लिग एनएसएल फुटबलमा आज एफसी चितवन र पोखरा थन्डर्सबीच एलिमिनेटर खेल हुँदैछ ।
यी दुई टोलीबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजे सुरु हुनेछ ।
आजको विजेता टोली दोस्रो क्वालिफायरमा प्रवेश गर्दा पराजित हुने टोली प्रतिस्पर्धाबाट बाहिरिनेछ । दोस्रो क्वालिफायर खेल बुधबार हुनेछ ।
दोस्रो क्वालिफायरमा हिजोको पराजित टिम धनगढी एफसीले आजको एलिमिनेटरको विजेतासंग खेल्नेछ ।
हिजो भएको पहिलो क्वालिफायर खेलमा विजयी हुँदै ललितपुर सिटी एफसी लिगको फाइनलमा प्रवेश गर्दा पराजित धनगढी एफसीले दोस्रो क्वालिफायर खेल्नुपर्ने भएको हो ।
साविक विजेता ललितपुर सिटीले साविक उपविजेता धनगढीलाई २–१ गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।
एनएसएलको उपाधि भिडन्त आगामी शनिबार हुनेछ ।
यसैबीच एनएसएलको पहिलो क्वालिफायरमा रेफ्रीको गलत निर्णयविरुद्धको ललितपुर सिटी एफसीले अपिल गर्ने भएको छ ।
रेफ्रीको गलत निर्णयका कारण दुई रातो कार्ड ब्यहोरेको ललितपुरले रेफ्रीको निर्णयविरुद्ध अपिल गर्ने भएको हो ।
खेल संचालन गरेका फिफा रेफ्री उमेश बिडारीले पहिलो हाफमा मणिकुमार लामालाई सिधा रातो कार्ड र खेलपछि पाप डियाकीटेलाई दोहोरो पहेंलो कार्ड दिएका थिए । दुवै निर्णयको विरुद्ध ललितपुरले अपिल गर्ने क्लबले जनाएको छ ।
प्रतियोगिताको स्तर बढाउन टिमको हिसाबले धेरै मिहिनेत गरेको तर एनएसएल खेलाउने रेफ्रीको स्तरनै नभएको ललितपुर सिटीका प्रबन्ध निर्देशक आलोक जोशीको भनाइ छ ।
रेफ्रीको गलत निर्णयका कारण आफ्ना दुई महत्त्वपूर्ण खेलाडीले रातो कार्ड पाएको र यो गलत निर्णयको विरुद्धमा कडा अपिल गर्ने उनले विज्ञप्तीमार्फत् जनाएका छन् ।
तर रेफ्रीले दुई रातो कार्ड देखाएका कारण फाइनल खेलमा मणि र डियाकिटे उपस्थित हुने छैनन् । रेफ्रीको निर्णयमा अपिल गरेकाले आयोजकबाट निर्णय उल्टिए भने ती खेलाडी उपलब्ध हुनेछन् ।
खेलको सुरुवातमा धनगढीका मोहमद अल जाउनीबाट खराब ट्याकल बेहोरेका ललितपुरका मणिले उल्टै रातो कार्ड पाएका थिए ।
प्रकाशित मिति २०८२ वैशाख ७ गते आइतबार ०९:३९




