पोखरा ।
आज जुन ५ अर्थात् विश्व वातावरण दिवस । ‘प्लाष्टिक प्रदूषण न्यूनीकरणः हाम्रो दायित्व’ नाराका साथ नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरि दिवस मनाइँदै छ ।
संयुक्त राष्ट्रसंघले आह्वान गरेबमोजिम सन् १९७३ देखि प्रत्येक वर्ष जुन ५ तारिखलाई विश्व वातावरण दिवसको रूपमा मनाउन थालिएको हो ।
आज दक्षिण कोरियामा विशेष कार्यक्रमका साथ यो दिवस मनाइने संयुक्त राष्ट्रसंघले जनाएको छ ।
राष्ट्रसंघका अनुसार हरेक वर्ष पृथ्वीमा ४० करोड टन प्लाष्टिकजन्य फोहर उत्पादन हुने गरेको, उत्पादित त्यस्तो फोहरमध्ये त्यसको १० प्रतिशत मात्र पुनः प्रयोग हुने तथा एक करोड १० लाख टन प्लाष्टिक नदी, तलाउ र महासागरमा विसर्जन हुने गरेको छ ।
नेपालको सन्दर्भमा भने प्लास्टिक प्रयोगसँगै यसबाट उत्पन्न हुने दीर्घकालीन प्रदूषण घटाउन चुनौती छ । घरबाट निस्कने फोहरसँगैका प्लास्टिकका थुप्रोले लामो समयसम्म रहिरहने गरी शहर र गाउँमा प्रदूषण बढाएका विज्ञले बताएका छन् ।
प्लास्टिकका झोलालगायत यसबाट बनेका उपकरणको प्रयोग सजिलो र सहज भए पनि प्रयोगपछि निम्तने दीर्घकालीन समस्याले वातावरण र मानव जीवनमै गम्भीर असर पर्ने गरेको छ ।
प्लास्टिक माटोमा पुरिए पनि सयौं वर्षसम्म नकुहिने भएकाले यसको प्रयोग र व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ ।
यसैबीत वातावरण दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायतले प्रकृतिमुखी जीवनशैली अवलम्बन गर्न अपिल गरेका छन् ।
आज गैरकानुनी रूपमा माछामार्नेविरुद्धको संघर्ष दिवस पनि हो । राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन )एफएओ)को आह्वानमा सन् २०१७ देखि यो दिवस मनाउन प्रारम्भ भएको हो ।
दिगो विकासका लक्ष्य हासिल गर्न गैरकानुनी रूपमा माछामार्ने प्रवृत्ति अन्त्य हुनुपर्नेमा एफएओको जोड छ ।
यसरी हरेक वर्ष एक करोड १० लाख देखि दुई करोड ६० टन माछा मारिँदा अर्बौँ डलर हानि हुने गरेको एफएओले जनाएको छ ।
प्रकाशित मिति २०८२ जेठ २३ गते बिहीबार ०९:४३




