पोखरा ।
बाजुराको बाम्का बजारमा गत शुक्रबार भएको आगलागीबाट १५ करोड रुपैयाँभन्दा धेरैको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
बुढीगंगा नगरपालिका–६ मा पर्ने बाम्का बजारमा आगलागीबाट ३१ वटा पसल पूर्ण रूपमा र सात वटामा आंशिक क्षति भएको छ ।
क्षतिपछि पीडितलाई राहत वितरणका लागि बुढीगंगा नगरपालिकाका मेयर रामबहादुर बानियाँको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको छ ।
बुढीगंगा नगरपालिका र त्रिवेणी नगरपालिकाको संयुक्त बैठकले अग्निपीडितलाई राहत तथा पुनःस्थापनाका लागि एकद्वार प्रणालीमार्फत वितरण तथा पुनःस्थापना गर्न बानियाँको संयोजकत्वमा समिति गठन गरेको वडा–६ का अध्यक्ष हेमराज जैशीले जानकारी दिए ।
दुवै नगरपालिकाको संयुक्त बैठकले आगलागीपीडितलाई उचित राहत र पुनःस्थापनाका लागि तीन तहका सरकार र संघसंस्थालाई आह्वान गर्ने निर्णय गरेको छ ।
बाम्का आगलागीपीडितलाई बुढीनन्दा नगरपालिकाले तत्कालका लागि एक लाख राहतस्वरुप सहयोग गरेको छ ।
शुक्रबार दिउँसो ग्यास सिलिण्डर पड्किँदा आगलागी भएको थियो । विस्थापित परिवार छिमेकी र आफन्तकोमा आश्रय लिएर बसेका छन् ।
आगलागीका कारण फाइबर इन्टरनेट र विद्युत् सेवा अवरुद्ध छ ।
प्रकाशित मिति २०८२ जेठ २६ गते आइतबार १०:०८




