कास्कीमा आगामी चैत १० देखी २२ गतेसम्म राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत दादुरा रुबेला खोप अभियान सञ्चालन हुने भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय कास्की र पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाले बिहीबार पोखरामा अभियानका बारेमा सञ्चारकर्मीहरुसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरी दुई चरणमा जिल्लामा पाँच वर्ष मूनिका बालबालिकाहरुमा खोप अभियान सञ्चालनको तयारी गरेको जानकारी दिएको हो ।
पहिलो चरणमा चैत १० देखी १७ गतेसम्म जिल्लाका माछापुच्छ्रे, रुपा, अन्नपूर्ण र मादी गाउँपालिकाका वडाहरु तथा पछिल्लो समय महानगरमा मिसिएका साविकका गाविसहरुमा खोप अभियान सञ्चालन हुने बताइन्छ । त्यसैगरि चैत २० देखी २२ गतेसम्म महानगरका वडाहरुमा खोप कार्यक्रम सञ्चालन गर्ने योजना रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख बाबुराम आचार्यले बताए ।
अभियानको क्रममा जिल्लामा ५० हजार २६० बालबालिकालाई दादुरा तथा रुबेलाको खोप दिने लक्ष्य राखिएको छ । खोप अभियानमा ४२० खोपकेन्द्र तथा अभियानभर ६४७ जना खोपकर्ता परिचालन हुने बताइन्छ । अभियानको क्रममा खोप कार्यकर्तालाई तालीम, महिला स्वास्थ्य स्वयसेविका र वडा खोप समितिलाई अभिमूखीकरण र हरेक लक्षित बच्चा भएको घरमा निमन्त्रणा कार्ड वितरण गरिएको बताइन्छ ।
“अभियानलाई सफल बनाउन र कोही पनि खोपबाट बञ्चित हुन नपर्ने गरी कार्यक्रम सञ्चालनका लागि प्रदेश, जिल्ला, महानगर, गाउँपालिका तथा वडास्तरमा समेत खोप समन्वय समिति गठन गरिएको छ । यो अभियानमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी सबै तयारी अवस्थामा रहेका छौँ।”आचार्यले भने।
जिल्लामा खोप कार्यक्रमलाई प्रभावकारी बनाउन तथा खोपपछि बालबालिकामा देखिने समस्यालाई समाधान गर्नका लागि बालरोग विशेषज्ञ डा.रामचन्द्र बास्तोलाको संयोजकत्वमा चिकित्सकहरुको टोली गठन गरिएको र प्रत्येक खोपकेन्द्रमा सो टोलीको विवरण पु¥याइने भएकाले खोप पछि आउनसक्ने समस्या प्रभावकारी ढङ्गले समाधान गरिने महानगर स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्मा पौडेलले जानकारी दिए ।
नियमित खोप तथा अभियानमा दादुरा रुबेला खोपको कभरेज देशभरमा ९५ प्रतिशतभन्दा माथि भएको सुनिश्चित हुनुपर्ने साथै अभियानको अवसरमा नियमित खोपको समेत सुदृढीकरण गर्ने लक्ष्य रहेको बताइन्छ ।
नेपाल डेमोग्राफिक्स हेल्थ सर्भे २०१६ का अनुसार देशका २१ प्रतिशत बालबालिका अझैपनि पूर्ण खोपबाट बञ्चित रहेको र एक प्रतिशत बालबालिकामामा खोप पुग्न नसकेको(शुन्य डोज) औँल्याइएको छ । नेपालमा विसं २०३४ मा विफर उन्मुलनपछि खोप थपिदै जानेक्रममा हाल ११ वटा खोप सञ्चालनमा रहेको स्वास्थ्य महाशाखाका अधिकृत हरिलाल आचार्यले बताए ।
बाल मृत्युको कारण मध्य दादुरा समेत एक भएकाले यसबाट बालबालिकालाई बचाउन अभियानको रुपमा सरकारले देशभर खोप कार्यक्रम सञ्चालन गर्न लागेको हो ।सन् २०२३ भित्रमा नेपालबाट दादुरा रुबेला निवारणको राष्ट्रिय प्रतिवद्धता रहेकाले अभियानको रुपमा खोप कार्यक्रम शुरु गर्न लागिएको हो । देशका केही प्रदेशमा भने अभियान सम्पन्न भइसकेको छ ।
विसं २०७५ भदौ १३ गते गण्डकी प्रदेशलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा समेत गरिएको थियो ।
प्रकाशित मिति २०७६ चैत ७ गते शुक्रबार ०६:४२



