काठमाडौं ।
नेपाली काँग्रेसका सांसद डा. प्रकाशशरण महतले काँग्रेस–एमाले गठबन्धन सरकारको एक वर्षे कार्यकाल मिश्रित रहेको बताएका छन् ।
आइतबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद महतले यस्तो बताएका हुन् ।
स्रोत र साधनको सीमितताको कारण सबै अपेक्षाहरु पूरा हुन नसकेको उनको भनाइ छ ।
यद्यपी निजी क्षेत्रलाई चलायमान बनाउन आवश्यक पाँच वटा कानून संसदबाट पारित हुनु सरकारको सफलता भएको उनले दाबी गरे ।
उनले कानून निर्माणमा सरकारले गति बढाएको भएपनि डेलिभरी दिने कुरामा भने चुकेको टिप्पणी गरे ।
सेवा प्रवाहमा ढिलासुस्ती, झमेला र लेनदेनजस्ता समस्याहरू कायमै रहेको उल्लेख गर्दै उनले यस विषयमा सरकार गम्भीर हुन जरुरी रहेको बताए ।
उनले भने, ‘समग्रमा सरकारको एक वर्ष मिश्रित रह्यो । हाम्रा अपेक्षाहरु धेरै छन् । सबै अपेक्षाहरु पुरा हुन्छन् हुन गाह्रो छ । किनभने सिमित स्रोत र साधनका कारण सबै अपेक्षाहरु पुरा हुन सक्दैनन् । तथापी यो वर्षमा केही राम्रा कामरु पनि भएका छन् । निजी क्षेत्रलाई चलायमान बनाउनको लागि पाँच वटा कानून बनेका छन् । अन्य कानूनहरु पनि पारित भएका छन् । यसलाई सकारात्मक रुपमा लिनुपर्छ । यद्धपी डेलिभरी र सुशासनको कुरामा, आम नागरिकले सेवा पाउने कुरामा झमेला, ढिलासुस्ती र लेनदेनका कुराहरु पनि आएका छन् । यसमा सरकार गम्भिर हुनुपर्छ । र सरकारले आफ्नो संयन्त्रलाई बजबुत बनाउनुपर्छ । समग्र कर्मचारी क्षेत्रले जनता र देशलाई केन्द्रमा राखेर काम गरुन् भन्ने कुराको सुनिश्चितता गर्नुपर्छ ।’
सरकारले आफ्नो संयन्त्र बलियो बनाएर कर्मचारीहरुलाई जनता र देशलाई केन्द्रमा राखेर काम गर्ने वातावरण बनाउन जरुरी रहेकोमा काँग्रेस सांसद डा. महतको जोड छ ।
प्रकाशित मिति २०८२ असार ३० गते सोमबार ०९:१३




