पोखरा ।
आज साउन १ गते, साउने संक्रान्ति अर्थात् लुतो फाल्ने दिन, सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) संक्रान्ति पर्व आज देशभर स्नान, दान गरेर मनाइँदैछ ।
सूर्यले मिथुन राशिको भोग पूरागरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने संक्रान्तिका रुपमा मनाउने प्राचीन परम्परा छ ।
साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ । माघ १ गते सुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनका दिनलाई विशेष रुपमा मनाइन्छ ।
अधिकांश नेपाली खेतीपातिमा लाग्ने भएकाले असार महिनाभर उनीहरु कृषिकर्ममा व्यस्त हुन्छन् ।
सो क्रममा हिलोमैलोले लाग्ने छालासम्बन्धी रोग ठीक गर्न लुतो फाल्ने गरिएको धर्मशास्त्रविद् प्रा.डा देवमणि भट्टराईले बताए ।
एक महिना काम गर्ने किसान साउन १ गते आफन्तका साथ जम्मा भई रमाइलो गरेर साउने संक्रान्ति पर्व मनाउने चलन छ ।
आज साँझ परम्पराअनुसार कागभलायो, कुकुरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रुपमा प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ ।
लुतो फाल्दा आ–आफ्नो कूल परम्पराअनुसार नाङ्लो ठटाउने, शंख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन नेपाली समाजमा छ ।
साउन महिनालाई विशेष रुपमा भगवान् शिवको पूजा गरेर मनाउने महिनाका रुपमा पनि लिइन्छ ।
प्रकाशित मिति २०८२ साउन २ गते बिहीबार ०९:०९




