बाढीको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह
पोखरा ।
देशभर मनसुनी वायुको प्रभावका कारण देशका विभिन्न ठाउँमा अहिले पानी परिरहेको छ ।
गएराति पश्चिमका कास्की, लमजुङ, पर्वत लगायतका जिल्लामा र पूर्वका धेरै ठाउँ, काठमाण्डौ उपत्यमा पानी परिरहेको छ ।
मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा थोरै उत्तरतिर रहेको हुँदा कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशलगायत देशका पहाडी भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार ती प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको जनाइएको छ ।
यसैगरी देशको उच्चपहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ । त्यसैगरी विभागका अनुसार आज राति देशभर साधारणतया बदली रहनेछ ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि विभागद्वारा जारी मौसम बुलेटिनमा उल्लेख छ ।
कोशी र गण्डकी प्रदेशका केहि ठाउँमा ठूलो वर्षापछि बाढी जोखिम बढेको छ ।
त्यस्तै कास्कीको लुम्ले र आसपासको क्षेत्रमा भारी वर्षा भएकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।
विभागले आज बिहान एक सूचना जारी गर्दै कास्कीको लुम्ले र आसपासको क्षेत्रमा भारी वर्षा भएको र थप वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन भनेको हो ।

विभागले थप वर्षाको सम्भावना रहेकाले सो क्षेत्र भई बहने स–साना खोलामा आकस्मिक बहाव बढ्न सक्ने र कमजोर तथा भिरालो जमिनमा पहिरो जोखिम हुनसक्ने रहेकाले थप सचेतना अपनाउन आग्रह गरेको छ ।
यस्तै, विभागले आज बिहान अर्को सूचना जारी गर्दै इलामको कन्काई, मैनाचुली जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको जनाएको छ ।
विभागले सो आसपास वर्षाको मात्रामा क्रमशः वृद्धि भइरहेकाले नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा रहनेले आज दिउँसोसम्म उच्च सतर्कता अपनाउन ध्यानाकर्षण गराएको छ ।
बितेको २४ घण्टामा धनकुटाको त्रिवेणीमा एक सय ९५ दशमलव ६, इलामको माईपोखरी केन्द्रमा एक सय ८२ दशमलव २ मिलिमिटर र मझुवाघाटमा एक सय ७३ मिलिमिटर, लुम्लेमा एक सय ६२ दशमलव ६ मिलिमिटर वर्षा मापन भएको छ ।
मधेश प्रदेश र काठमाण्डौ उपत्यकासहित बाग्मती प्रदेशका जिल्लामा हल्कादेखि मध्यम वर्षा भएको छ । आज र भोलि थप पानी पर्ने सम्भावना छ । अहिले देशभर मनसुनी वायुको प्रभाव छ ।
आज कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशलगायत देशका पहाडी भागका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार ती प्रदेशका केही ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना पनि छ ।
प्रकाशित मिति २०८२ साउन ५ गते आइतबार ०८:५८




