२०८३ असोज २५ गते आइतबार

माओवादी केन्द्रद्वारा स्थायी कमिटी बैठकका एजेण्डा तय

माओवादी केन्द्रद्वारा स्थायी कमिटी बैठकका एजेण्डा तय

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन १६ गते बिहीबार ०९:०४

स्थायी कमिटी बैठकका एजेण्डाहरुमा पार्टी अभियानलाई निरन्तरता दिने, संगठनलाई बलियो बनाउने र समाजवादी मोर्चालाई थप सक्रिय बनाउने विषय तय भएका छन् ।

काठमाडौं ।

नेकपा (माओवादी केन्द्र)ले भोली शुक्रबार बस्ने स्थायी कमिटी बैठकको एजेण्डा तय गरेको छ ।

बुधबार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बसेको पार्टी पदाधिकारी बैठकले शुक्रबारदेखि शुरु हुने स्थायी कमिटी बैठकको एजेण्डा तय गरेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

उनकाअनुसार स्थायी कमिटी बैठकका एजेण्डाहरुमा पार्टी अभियानलाई निरन्तरता दिने, संगठनलाई बलियो बनाउने र समाजवादी मोर्चालाई थप सक्रिय बनाउने विषय तय भएका छन् ।

सापकोटाले स्थायी कमिटीको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले वर्तमान राजनीतिक विषयमा ब्रिफिङ गर्ने पनि जानकारी दिए ।

उनले भने, ‘बुधबारको बैठकबाट शुक्रबार बस्ने स्थायी कमिटीको बैठकका एजेण्डा तय गरिएका छन् । कमिटीको बैठकमा पार्टी हेडक्वार्टरको तर्फबाट वर्तमान परिस्थितिबारे ब्रिफिङ गर्नुहुनेछ । त्यसपछि हाम्रो पोखरा आएर रोकिएको अभियान सञ्चालनको बारेमा छलफल हुनेछ । र त्यस्तै केन्द्रीय समितिको बैठकको मिति तय गर्नेबारे छलफल हुनेछ । अहिले समाजवादी मोर्चाका बैठकहरु पनि बसिरहेका छन् । केही समय सुस्ताएको जस्तो भएको थियो । त्यसलाई सक्रिय बनाउने कुरामा पनि स्थायी कमिटी बैठकले छलफल गर्नेछ ।’

स्थायी कमिटी बैठकबाट संगठन निर्माण, नेताहरुको कार्यविभाजन लगायत प्रश्ताव पारित गरिने पनि उनले बताए ।

प्रकाशित मिति २०८२ साउन १६ गते बिहीबार ०९:०४
हजुरको प्रतिक्रिया