२०८३ असोज २५ गते आइतबार

निर्माणाधिन संसद भवनको कार्यप्रगतिबारे निराशः पुस १६ भित्रै सकिने छैन आधार

निर्माणाधिन संसद भवनको कार्यप्रगतिबारे निराशः पुस १६ भित्रै सकिने छैन आधार

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन २० गते सोमबार ०२:०३

काठमाडौं । सांसदहरुले निर्माणाधिन संसद भवनको काम म्याद थप भएको मितिमा समेत सम्पन्न हुन नसक्ने आशंका व्यक्त गरेका छन् । सोमवार निर्माणाधिन नयाँ संसद भवनको निरीक्षणका लागि पुगेको संसदीय समितिका सदस्यहरुले यस्तो आशंका गरेका...

काठमाडौं ।

सांसदहरुले निर्माणाधिन संसद भवनको काम म्याद थप भएको मितिमा समेत सम्पन्न हुन नसक्ने आशंका व्यक्त गरेका छन् ।

सोमवार निर्माणाधिन नयाँ संसद भवनको निरीक्षणका लागि पुगेको संसदीय समितिका सदस्यहरुले यस्तो आशंका गरेका हुन् ।

सरकारले आयोजनाको १४ औं संशोधनबाट २०८२ साल पुस १६ गतेसम्म म्याद थप गरेको छ । तर फिनिसिङको काम जम्मा ५ प्रतिशत मात्रै सम्पन्न भएकाले अझै सकिन समय लाग्ने उनीहरुको अनुमान छ । राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले अनुगमन गर्ने क्रममा अझै धेरै कामहरु गर्न बाँकी रहेको सांसदहरुले बताए ।

समितिका सभापति मायाप्रसाद शर्माले अझै धेरै काम गर्न बाँकी रहेकाले समयमै सम्पन्न हुनेमा शंका व्यक्त गरे । अब म्याद पुनः थप्ने गरी काम हुनु नहुने भन्दै निर्माण कम्पनीको ध्यानाकर्षण गराए । काममा धेरै नै ढिलासुस्ती भइरहेको आरोप लगाए ।

उनले भने, ‘पुस १६ गतेसम्मको लागि म्याद थप भएको रहेछ । अब समयमै सम्पन्न हुन्छ की हुँदैन रु अझै काम धेरै बाँकी छ । फिनिसिङको काम ढिलो हुन्छ, धेरै बाँकी छ । अब म्याद थप्ने गरी नहोस् । क्रमिक रुपले काम भइरहेको छ । तर ढिलासुस्ती छ ।’

नेकपा (एकीकृत समाजवादी) की सांसद गोमादेवी तिमल्सिनाले पटक पटक म्याद थप भएपनि काम सन्तोषजनक नरहेको बताइन् । उनले अझै समयमै काम सम्पन्न हुनेमा आशंका व्यक्त गरिन् ।

उनले भनिन्, ‘नयाँ संसद भवनको निरीक्षण र अवलोकनका लागि हामी आएका छौँ । यो पटक पटक आयौँ । तर प्रगति सन्तोषजनक छैन । पुस १६ गतेसम्म पनि सकिएला जस्तो लाग्दैन ।’

नेकपा (माओवादी केन्द्र) का सांसद नरबहादुर विष्टले अझै काम सकिन दुई वर्ष लाग्ने देखिएको बताए । फिनिसिङको काम जम्मा ५ प्रतिशत मात्रै भएको उनको भनाइ छ ।

उनले भने, ‘निरीक्षण गर्दा ५ प्रतिशत मात्रै फिनिसिङ भएको छ । यो अझै सकिन्छ जस्तो लाग्दैन । अझ दुई वर्ष लाग्छ जस्तो लागेको छ ।’

नेकपा (एकीकृत समाजवादी) की सांसद मदनकुमारी साहले पछिल्लो समय थपिएको पुस १६ गतेसम्ममा पनि काम सकिन गाह्रो रहेको बताउनु भयो । सिंहदरबारभित्रको यो अवस्था छ भने बाहिरको अवस्था कस्तो होला ? भन्दै प्रश्न गरे ।

उनले भने, ‘पछिल्लो समयमा एक वर्ष जुन म्याद थपिएको छ । यो थपिएको म्यादभित्र पनि सम्पन्न हुने स्थिति देखिँदैन । बहाना धेरै छन् । पटक पटक म्याद थपिँदा समेत यो समयमा काम सकिने स्थिति छैन । सिंहदरबारभित्रको यो अवस्था छ भने बाहिरको अवस्था कस्तो छ भनेर सहजै अनुमान गर्न सकिन्छ । विकास निर्माणमा लापरवाही देखिन्छ, सरकारलाई नटेरेको देखिन्छ ।’

नयाँ निर्माणाधिन संसद भवन निर्माण आयोजनाका निर्देशक सुनिलकुमार ठाकुरले आयोजनाको १४ औं संशोधनबाट २०८२ साल पुस १६ गतेसम्म म्याद थप भएको र त्यहीअनुसार काम अघि बढिरहेको बतााए। सिभिलका काम सकिसकेको र अब फिनिसिङका काम मात्रै रहेकाले त्यसका लागि आवश्यक सामग्रीहरु पनि जोहो भइसकेकाले समयमै सकिने विश्वास व्यक्त गरे ।

उनले भने, ‘आयोजनाको १४ औं संशोधनबाट २०८२ साल पुस १६ गतेसम्म म्याद थप भएको छ । त्यहीअनुसार दुवै निर्माण व्यवसायीलाई काम सम्पन्न गर्नलाई कार्ययोजना दिएर काम गरिरहेका छौँ । अधिकतम काम गर्ने हो । सिभिलका काम सकिसकेका छन् । फिनिसिङ काम बाँकी हो । त्यसको लागि चाहिने सामान जोहो भइसकेकाले समयमै काम सम्पन्न गर्नेछौँ ।’

सांसदहरुले सबैले जिम्मेवारी लिइ ताकेता गरेर भएपनि छिटो भन्दा छिटो सम्पन्न गराउने काममा लाग्नुपर्ने बताए ।

प्रकाशित मिति २०८२ साउन २० गते सोमबार ०२:०३
हजुरको प्रतिक्रिया