काठमाडौं ।
नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रमा चीन र भारतबीच भएको व्यापार सम्झौताप्रति गम्भीर ध्यानाकर्षण गराउँदै सरकारलाई तत्काल कुटनीतिक पहल गर्न आग्रह गरेका छन्।
प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै खतिवडाले प्रधानमन्त्रीको आसन्न चीन र भारत भ्रमणका अवसरमा यस विषयलाई उच्चस्तरमा उठाउनुपर्नेमा जोड दिए।
उनले सीमा विवादजस्ता संवेदनशील मुद्दामा दल, जात वा समूहभन्दा माथि उठी राष्ट्रिय स्वाभिमान र एकताका लागि सबै नेपाली एकजुट हुनुपर्ने आवश्यकता औंल्याए। उनले प्रधानमन्त्रीको आसन्न भ्रमणका क्रममा दुई देशका प्रमुखसँग आफ्नो स्ट्यान्ड स्पष्टसँग राख्न आग्रह गरे।
उनले भने, ‘लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रबाट चीन र भारतले गरेको व्यापार सम्झौताको विषय अहिले चर्चामा छ । यस समस्यालाई सरकारले कुटनीतिक पहलको माध्यमबाट छिटोभन्दा छिटो समाधान गरोस् । संयोग छ सभामुख महोदय सम्माननीय प्रधानमन्त्री केही दिनपछि चीन र भारतको भ्रमण गर्दै हुनुहुन्छ । त्यो समयमा दुवै सरकारका प्रमुखसँग आफ्नो स्ट्यान्ड राखेर कुरा होस् र यो समस्या समाधान होस् भनेर माग गर्न चाहान्छु । यस्तो बेलामा हामी सबै नेपालीहरु कुनै पार्टी र कुनै जातिको नभई सम्पूर्णको नेपालको तर्फबाट स्वाभिमान र राष्ट्रिय एकतापक्षको पक्षमा उभिनुपर्छ ।’
उनले तिब्बती क्षेत्रमा हिमताल फुटेर आएको बाढीप्रति चिन्ता व्यक्त गर्दै त्यसबारे समेत दुई देशबीच आपसी सहकार्य र समन्वय हुनुपर्ने बताए।
प्रकाशित मिति २०८२ भदौ ६ गते शुक्रबार ०३:१८




