२०८३ साउन २१ गते बिहीबार

सरकारी कर्मचारीले काम गरेनन्, लोकसेवा रटेर बसेः मन्त्री न्यौपाने

सरकारी कर्मचारीले काम गरेनन्, लोकसेवा रटेर बसेः  मन्त्री न्यौपाने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ ६ गते शुक्रबार ०३:५०

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले सरकारी कर्मचारीहरूले कामभन्दा बढी लोकसेवामा ध्यान दिने गरेको बताएकी छन्। शुक्रवार विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै कर्मचारीहरूमा काम गर्ने मनोवृत्ति...

काठमाडौँ ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले सरकारी कर्मचारीहरूले कामभन्दा बढी लोकसेवामा ध्यान दिने गरेको बताएकी छन्।

शुक्रवार विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै कर्मचारीहरूमा काम गर्ने मनोवृत्ति नदेखिएको बताएकी हुन्।

उनले सरकारले सबै पदमा खुला गर्नसक्ने अवस्था नरहेको बताइन्।

उनका अनुसार अहिले पनि सरकारी कर्मचारीहरू काम गरेर बस्दैनन्।

उनीहरू आफ्नो वृत्तिविकासका लागि हाजिर लगाएर लोकसेवाको रटान लगाइरहेका हुन्छन्। यसले सरकारले चाहेअनुसारको नतिजा दिन सकेको छैन।

संघीय मामिलामन्त्री न्यौपानेले भनिन्‚ ‘संघीय मामिला मन्त्रालयमा मन्त्री भएर आएपछि देखेँ।

धेरैको सोचाइ भनेको हाजिर लगाउने, आफ्नो थप वृत्तिविकासका लागि समय खर्चिने प्रवृत्ति देखेँ। सबै तहमा खुला प्रतिस्पर्धाबाट कर्मचारी नियुक्त गर्ने हो भने त काम गर्नेभन्दा बढी लोकसेवाको तयारी गरेर बस्ने, पढ्ने, रट्ने‚ ध्यान दिने स्थिति भयो। त्यसैले धेरै पदमा खुला प्रतिस्पर्धाबाट गर्नहुन्न।’

संघीय मामिला मन्त्रालयले संघीय निजामती विधेयक ल्याउँदा नासुमा खरिदार खुला प्रतिस्पर्धाबाट गर्ने प्रस्ताव गरेको थियो। प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिले नासु खुलाबाट नगर्ने प्रस्ताव पास गरेको छ।

प्रकाशित मिति २०८२ भदौ ६ गते शुक्रबार ०३:५०
हजुरको प्रतिक्रिया