पोखरा ।
हरेक वर्ष भदौ कृष्णऔँसीका दिन मनाइने कुशे औँसी पर्व आज वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाइँदैछ ।
शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पु¥याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।
आजको दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरू दिन उखेलिएको कुश त्यसैदिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता छ ।
आजका दिन घर–घरमा राखिएको कुश वर्षभर हुने देवकार्य एवं पितृकार्यमा प्रयोग गरिन्छ । सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन् ।
यस्तै, आज बुवाको मुख हेर्ने दिन, छोराछोरीले आफ्ना पिताप्रति सम्मान–भक्ति प्रकट गर्दै परम्पराअनुसार आ–आफ्ना बाबुलाई मन पर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गरि बुवाको मुख हेर्ने दिन मनाइँदैछ ।
बुवा हुनेले मिठामिठा परिकार बनाएर खुवाउने तथा लुगाफाटो तथा विविध उपहार दिने चलन छ ।
बुवा नहुनेले विभिन्न तीर्थस्थलमा गई तपर्ण, श्राद्ध तथा पिण्डदान गर्ने परम्परा छ ।
आजको दिन विशेषगरी उत्तरगया भनेर चिनिने काठमाण्डौको उत्तरपूर्वी भेगमा रहेको गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्छ ।
यसैले आजको औँसीलाई गोकर्णे औँसीका नामले पनि चिनिन्छ ।
यस अवसरमा गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवंगत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेहरूको घुइँचो छ ।
यसैगरी रसुवा र नुवाकोट संगमस्थल वेत्रावतीमा पनि लाग्ने मेला लाग्ने गर्छ । बेत्रावतीमा पनि पिता दिवंगत भएका तर्पण, सिदादान र पिण्डदान गर्न पुग्ने गर्छन् ।
प्रकाशित मिति २०८२ भदौ ७ गते शनिबार ०९:३९




