२०८३ साउन २१ गते बिहीबार

उपत्यकाका तीनै जिल्लामा कर्फ्यु, सभा जुलुस र प्रदर्शनमा रोक

उपत्यकाका तीनै जिल्लामा कर्फ्यु, सभा जुलुस र प्रदर्शनमा रोक

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ २४ गते मंगलबार ०९:१२

अत्यावश्यक सेवाका सवारी साधनहरुबाहेक अन्यलाई आउजाउ गर्न, सभा जुलुस गर्न वा कुनै पनि प्रकारको प्रदर्शन गर्न रोक लगाइएको छ ।

अत्यावश्यक सेवाका सवारी साधनहरुबाहेक सवै ठप्प

काठमाडौं ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले चक्रपथ क्षेत्रभित्र कर्फ्यु लगाएको छ । आज बिहान साढे ८ बजेदेखि लागू हुने गरी अर्को आदेश नभएसम्मका लागि चक्रपथ क्षेत्रभित्र कर्फ्यु आदेश जारी गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए ।

हिजो जेनजी युवाको प्रदर्शनपछि लगाइएको कर्फ्यु अवधि आज बिहान ५ बजेबाट सकिएको थियो । त्यसपछि आज बिहान साढे ८ बजेदेखि अनिश्चितकालका लागि कर्फ्यु लगाइएको हो ।

प्रजिअ रिजालका अनुसार काठमाडौं महानगरपालिकाको बालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामंल, गौशाला, चाबहिल, नारायणगोपाल चोक, गोंगबु, बालाजु, स्वयम्भु, कलंकी, बल्खु हुँदै बागमती नदी पुलसम्मको चक्रपथभित्रको सम्पूर्ण भूभागमा कर्फ्यु लगाइएको हो ।

कर्फ्यु अवधिभर अत्यावश्यक सेवाका सवारी साधनहरुबाहेक अन्यलाई आउजाउ गर्न, सभा जुलुस गर्न वा कुनै पनि प्रकारको प्रदर्शन गर्न रोक लगाइएको छ ।

सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध युवाहरुले हिजो काठमाडौं प्रदर्शन गर्दा प्रहरीको गोली लागेर १९ जनाको ज्यान गएको थियो ।

भक्तपुरमा पनि कर्फ्यू आदेश

जिल्ला प्रशासन कार्यालय भक्तपुरले कर्फ्यू आदेश जारी गरेको छ । मंगलबार बिहान ८:३० बजेदेखि अनिश्चिकालिन कर्फ्यू आदेश जारी गरिएको छ ।

भक्तपुर जिल्लाको मध्यपुर थिमी, सूर्यविनायक, भक्तपुर नगरपालिकाभित्र आवत जावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यु आदेश जारी गरिएको छ ।

कर्फ्यु आदेश जारी भएका क्षेत्र :

-जडीबुटी-राधेराधे-बालकोट निकोसेरा, पेप्सीकोला क्षेत्र
-जडीबुटीदेखि अरनिको राजमार्ग साँगासम्म (२०० मिटर वरपर), पेप्सीकोला मनोहरा पुलदेखि निकोसेरा चोकसम्म,

-कौशल्टारदेखि बालकोटचोक हुँदै रोजभिलेजदेखि चारदोबाटो चोकसम्म

-राधेराधेचोकदेखि निकोसेरा चोकसम्म

-बाखाबजार, नेपाल कोरियन मैत्री नगरअस्पताल हुँदै चारदोबाटो चोकसम्म

-सल्लाघारी नगरकोट सडक, कमलविनायक, खरिपाटी हुँदै नगरकोट क्षेत्रसम्म

-च्यामासिंह, ताथली हुँदै नालासम्म (काभ्रेजिल्लाको सीमानासम्म)

-दुवाकोट मोडदेखि नेपाल इन्जिनियरिङ्ग कलेज क्षेत्र

-देकोचादेखि चाँगुनारायण मन्दिर क्षेत्रसम्म

ललितपुरमा मध्यराति १२ बजेसम्मै कर्फ्यु

जिल्ला प्रशासन कार्यालय ललितपुरले आज बिहान ७ बजेदेखि मध्यराति १२ बजेसम्म कर्फ्यु समय थप गरेको छ । प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले ललितपुर महानगरपालिका वडा नम्बर २, ४, ९, १८ र २५ भित्रका चार किल्ला तोकेर कर्फ्यु आदेश जारी गरिएको जानकारी दिए ।

वडा नम्बर ४, १८ र २५ भैंसेपाटी क्षेत्र पर्दछ । त्यहाँ पूर्वमा भैंसेपाटीबाट बुंगमती जाने सडक, पश्चिममा सिजी हाउजिङ तथा चोभार गल्छी सडक, उत्तरमा एकान्तकुनाको गायत्री पेट्रोलपम्प भन्दा तल रहेको विष्णुदेवी मन्दिर र दक्षिणमा इटनी जाने ओह्रालो क्षेत्रमा कर्फ्यु लगाइएको छ ।

यसैगरी वडा नम्बर २ सानेपास्थित इन्द्राणि मार्ग आसपासमा पनि भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ गर्न नपाउने गरी कर्फ्यु लगाइएको छ ।

सानेपा क्षेत्रमा सानेपा चोकबाट इन्द्राणी मन्दिर पक्की सडक, पश्चिमतर्फ बल्खु पुलदेखि मनमोहन पार्कसम्म बागमती करिडोर सडक, उत्तरतर्फ चक्रपथ सडकको सर्भिस लेन (बल्खु पुलदेखि सानेपा चोकसम्म) भित्र र दक्षिणतर्फ इन्द्राणी मन्दिरबाट बागमती करिडोर जाने पक्की सडक क्षेत्रमा कर्फ्यु लगाइएको छ ।

ललितपुर महानगरपालिकाको वडा नम्बर ९ को च्यासल क्षेत्रमा पूर्वमा मनोहरा खोला करिडोरको झोलुङ्गे पुल, पश्चिममा च्यासल रंगशाला, उत्तरमा मनोहरा खोला र दक्षिणमा पश्चिम मल पोखरी जाने बाटोसम्म कर्फ्यु लगाइएको प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जानकारी दिए ।

प्रकाशित मिति २०८२ भदौ २४ गते मंगलबार ०९:१२
हजुरको प्रतिक्रिया