पोखरा ।
छठ पर्वको दोस्रो दिन आज बर्तालुले ‘खरना’ विधि गर्दैछन् ।
कात्तिक शुक्ल चतुर्थी तिथिका दिन हिजो बेलुका ‘नहाय–खाय’ विधिबाट पर्व शुरू गरेका बर्तालु आज पञ्चमी तिथिका दिन ‘खरना’ को तयारीमा जुटेका हुन् ।
बर्तालुले स्नान गरी दिनभर निराहार उपवास (व्रत) बसेर राति सक्खरमा पकाइएको खिर देवता र छठी देवीलाई चढाउने र प्रसादस्वरुप खाने परम्परा छ । यो विधिलाई मिथिलामा ‘खरना’ भनिन्छ ।
त्यस्तै, मुख्य दिन भोलि सोमबार ठेकुवा, भुसवालगायत कृषिजन्य अन्नको पिठोबाट बनाइएका पकवानहरूसँगै केराको घरी, माटोको हात्ती, सूप, कनसुपती, कलशसहितको घैँटोलगायत सामग्रीको स्वच्छता र पवित्रतापूर्वक व्यवस्था गरिन्छ र बेलुका अस्ताउने सूर्यलाई अघ्र्य दिइन्छ ।
छठपर्वको अन्तिम दिन पर्सि मंगलबार बिहान उदाउँदै गरेको सूर्यलाई अघ्र्य दिएर यो पर्वको समापन हुन्छ ।
मिथिलाको सबैभन्दा ठूलो पर्वको रूपमा रहेको छठका लागि जनकपुरधामका घाटहरू–गंगासागर, अरगजा सर, दशरथ तलाउ, धनुष सागर, मटकोरर्वा पोखरीलगायतमा सजावट गरिएको छ ।
पारिवारिक सुख–समृद्धि र सन्तानको कल्याणको कामनासहित छठ पर्व मनाउने गरिन्छ ।
प्रकाशित मिति २०८२ कात्तिक १० गते आइतबार ०८:४९




