पोखरा ।
नेपालमा पश्चिमी वायु र अरब सागरबाट विकसित प्रणालीका कारण पश्चिम नेपाल प्रभावित भइरहेका बेला पुनः बंगालको खाडीबाट मोन्था चक्रवातको असर देखिने भएको छ ।
हिजोदेखि फेरबदल भएको मौसम आज दिउँसो केही खुलेपनि त्यसपछि मोन्था चक्रवातको असर देखिने अनुमान गरिएको छ ।
अहिले पश्चिमी वायु र अरब सागरबाट विकसित प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हिजो सुदूरपश्चिम, मधेश र कोशी प्रदेशबाहेक बाँकी प्रदेशको धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षा तथा केही ठाउँमा ठूलो पानी परेको थियो ।
उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भैरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मोन्था चक्रवातले बिहीबारदेखि बागमती, मधेश प्रदेश र कोशी प्रदेशलाई प्रभावित पार्ने जनाइएको छ । अहिले भने अरब सागरबाट विकसित प्रणाली कमजोर भएको छ ।
अब आउने प्रणालीले बाटोघाटो र नदीनालामा समेत प्रभावित पार्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
यसले १३ गते बिहीबार दिउँसोदेखि १५ गते शनिबार बिहानसम्म नेपालको बागमती मधेश र कोशी प्रदेशको मौसम प्रभावित बनाउने जनाइएको छ ।

प्रणालीको प्रभावले मधेश र कोशीका धेरै तथा बागमतीका केही ठाउँमा मध्यम तथा मधेश र कोशी प्रदेशका एक÷दुई ठाउँमा अत्यधिक वर्षाको पनि सम्भावना रहेको छ ।
विशेषगरि बागमती प्रदेशका काठमाडौँ, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, मकवानपुर, चितवन र सिन्धुली, मधेश प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट, महोत्तरी, धनुषा, सप्तरी र कोशी प्रदेशका संखुवासभा, ताप्लेजुङ, पांचथर, तेहथुम, भोजपुर, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी जिल्ला भई बहने स–साना नदीहरुमा आकस्मिक बहावको सम्भावना उच्च रहने देखिएको छ ।
यसैबीच राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले सात बुँदे अनुरोधमार्फत सतर्कता अपनाउन आग्रह गरेको छ ।
प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार सकेसम्म भोलि र पर्सि यात्रा नगर्न र तातो भएर बस्न तथा आवश्यक मौसमी सूचनाबारे जानकारी लिन अनुरोध गरिएको छ ।
प्रकाशित मिति २०८२ कात्तिक १३ गते बुधबार ०९:०४




