२०८३ असोज २५ गते आइतबार

अब पुरानो पार्टीको धङधङीबाट मुक्त हुनूस्ः माधव नेपाल

अब पुरानो पार्टीको धङधङीबाट मुक्त हुनूस्ः माधव नेपाल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ मंसिर १० गते मंगलबार ०७:१४

उनले एक, अर्काप्रतिको विश्वासले पार्टीलाई नेपाली जनताको आशा र भरोसाको केन्द्रको रुपमा विकास गर्नुपर्ने बताएका छन् ।

काठमाडौं ।

नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले अब पुरानो पार्टीको धङधङीबाट मुक्त हुन कार्यकर्तालाई निर्देशन दिएका छन् ।

अखिल नेपाल ट्रेड युनियनले मंगलवार आयोजना गरेको कार्यक्रममा उनले १४ वटा घटकलाई मिलाएर नेपाली कम्युनिष्ट पार्टीको गठन गरेकोले अब सबै नयाँ भएको बताएका हुन् । उनले पेरिसडाँडा मेरो, आलोकनगर तपाईंहरुको भन्ने मानसिकताबाट मुक्त हुन पनि आग्रह गरे ।

यो संगठन मेरो, अर्को संगठन अरुको भन्ने भ्रममुक्त भएर अब सबै जनसंगठनहरुलाई एकतावद्ध गर्नुपर्नेमा उनले जोड दिए । उनले ईतिहासको चर्चा गर्दाखेरि पनि २०५२ सालदेखिको मात्रै नभएर २००६ सालदेखिको चर्चा गर्न पूर्वमाओवादी कार्यकर्ताहरुलाई आग्रह गरे ।

२०२८ सालदेखि झापा विद्रोहको चर्चा गर्नुपर्ने उनको भनाई छ । उनले पार्टीमा योगदान भएका सबै नेताहरुको बारेमा चर्चा गर्न पनि कार्यकर्तालाई निर्देशन दिए ।

नेकपा एमालेका कार्यकर्ताहरुले अध्यक्ष केपी ओलीलाई ‘बा’ भन्ने गरेकोप्रति कटाक्ष गर्नुहुँदै पार्टी भित्र ‘बा’ प्रवृत्ति हावी हुन दिन नहुने उनले जिकिर गरे । एउटा मात्रै नेताको मात्रै चर्चाले आफूहरुको पार्टीभित्र पनि बा भन्ने प्रवृति हावी हुने उनको भनाई छ ।

उनले भने, ‘हामीले भर्खरै १४ वटा घटकलाई मिलाएर नेपाली कम्युनिष्ट पार्टीको गठन गरेका छौँ । म तपाईहरुलाई फेरि पनि भन्न चाहन्छु, अव यो नयाँ पार्टी भएको छ । त्यसो भएको हुनाले पुरानो पार्टीको धङधङीबाट मुक्त पनि हुनुपर्छ । यो महशुस नहोस्, मनोविज्ञानलाई पनि बुझेर चल्नुपर्छ । त्यसो हुनाले प्रशिक्षणको पनि आवश्यक्ता छ । पेरिसडाँडा मेरो, आलोकनगर तपाईहरुको भन्ने मानसिकताबाट मुक्त हुनुपर्छ । यो संगठन मेरो, अर्को संगठन अरुको भन्ने भ्रममुक्त हुनुपर्छ । अब एउटै पार्टी बनाएका छौँ । सबै जनसंगठनहरुलाई पनि एकतावद्ध गर्नुपर्नेछ । इतिहासको चर्चा गर्दाखेरि पनि ५२ सालदेखीको मात्रै होईन २००६ सालदेखिको चर्चा हुनुपर्छ । २०२८ सालदेखि झापा विद्रोहको चर्चा हुनेछ । एउटा नेताको मात्रै हुनेछैन, अनेकौँ नेताहरुले खेलेको महत्वपूर्ण भुमिकालाई पनि स्मरण गुर्नपर्छ । नभए हामीभित्र पनि बा भन्ने प्रवृति हावी हुनेछ । बा प्रवृत्तिबाट मुक्त हौँ, हामी ।’

उनले एक, अर्काप्रतिको विश्वासले पार्टीलाई नेपाली जनताको आशा र भरोसाको केन्द्रको रुपमा विकास गर्नुपर्ने बताएका छन् ।

प्रकाशित मिति २०८२ मंसिर १० गते मंगलबार ०७:१४

हजुरको प्रतिक्रिया