पोखरा ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेकपा एमाले फागुन २१ गते हुने निर्वाचनमा भाग लिन तयार भएको बताएका छन् ।
नेकपा एमालेको मुख्यालय च्यासलमा अनुगमनको क्रममा पुगेका उनले एमाले निर्वाचनमा भाग लिनको लागि तयार भएको बताएका हुन् ।
सरकारले निर्वाचनको लागि वातावरण बनाइरहेको उल्लेख गर्दै उनले एमाले तथा राजनितिक दलहरुलाई निर्वाचनमा प्रचारप्रसार लगायतका बातावरण बनाउन सरकार प्रतिवद्ध रहेको बताए ।
स्वतन्त्र, भयरहित र धाँदलीरहित ढंगबाट निर्वाचन गर्ने वातावरण सरकारले मिलाउने उनको भनाई छ । उनले एमालेले समेत निर्वाचनमा भाग लिने बताएसँगै देश निर्वाचनमय बनेको बताए ।
उनले भने, ‘आज अलिकति खुलेर कुराहरु हामी दुवै पक्षबीच भएको छ । त्यसमा के भएको छ, भन्दाखेरी नेकपा एमाले तर्फबाट उहाँहरुले स्पष्ट रुपमा भन्नुभएको छ, वातावरण बनाउनुस्, हामी निर्वाचनमा भाग लिन्छौँ, भन्ने कुरा नेकपा एमालेको महासचिवबाट स्पष्ट रुपमा आएको छ । सरकारको तर्फबाट हामीले उहाँहरुलाई निर्वाचनको लागि स्वतन्त्र भयरहित र धाँदलीरहित ढंगबाट निर्वाचन गर्ने वातावरण सरकारले मिलाउँछ, चुनाव प्रचारप्रचारको लागि चुनावी अभियानका अगाडी बढ्नको लागि कुनैपनि नेता कार्यकर्ता, अथवा जनतलाई कहीँ कतैपनि अवरोध नभईकन खुला रुपमा भोट माग्ने र भोट दिने वातावरण बनाउने कुरामा सरकार प्रतिवद्ध छ भन्ने कुरामा हामीले प्रतिवद्धता दोहो¥याएका छौँ । यो सबै हिसावले आज नेकपा एमालेसँगको भेटघाट चाहीँ चुनावउन्मुख भएको र चुनावको लागि नेकपा एमाले पनि तयार भएको र सरकारले पनि वातावरण बनाउने कुराहरुमा त्यही रुपमा तयारी अगाडी बढाएको हिसावले अब मुलुक चुनावमा होमियो र चुनावमा अगाडी बढ्यो ।’
उनले एमाले अध्यक्ष केपी ओलीको स्थानहदका सन्दर्भमा पनि सरकार लचिलो बन्नसक्ने संकेत गरे । एमालले निर्वाचनमा भाग लिने प्रतिवद्धता जनाएपछि सरकारले पनि निर्वाचनको वातावरण बनाउनको लागि सकेसम्मको लचकता अपनाउने उनको भनाइ छ ।
भदौ २३ र २४ गतेको घटना छानविन आयोगले पनि काम गरिरहेको सन्दर्भमा सरकारले आफ्नो कार्यक्षेत्रमा र अधिकारले मिल्नेसम्म निर्वाचनको लागि स्थानहद हटाउने लगायतका विषयका काम गर्ने उनले जानकारी दिए ।
उनले भने, ‘जब तपाई हामी देश नै सबै चुनावको लागि तयार भयो भने सरकारले चुनावमा भाग लिने राजनितिक दललाई र तीनका नेताहरुलाई त्यो वातावरण त सरकारले दिनुप¥यो । तर सबभन्दा पहिला चुनावमा भाग लिने कुराहरुको स्पष्ट रुपमा राजनितिक दलबाट खास गरेर नेकपा एमालेबाट आज आएको अवस्था छ । त्यो अवस्थालाई सरकारले सकरात्मक रुपमा लिएको छ । जहाँसम्म स्थानहदका कुराहरु छन् । नेतृत्वको सन्दर्भमा अथवा विभिन्न नेताहरुको सन्दर्भमा स्थानहदको सन्दर्भमा त एकातिर आयोगले काम गरिरहेको छ, अर्कोतिर सरकारले पनि त्यो काम गरिरहेको भएर यहाँहरुलाई हामी के भन्न चाहन्छौँ भने चुनाव हाम्रो महायज्ञ हो, महोत्सव हो । सुशासन अर्को महत्वपूर्ण प्राथमिकता हो । भ्रष्टाचार नियन्त्रण गर्ने कुरा यो सरकारले म्याण्डेड लिएको छ भनेदेखि यी बाँकी कुराहरुको सन्दर्भमा यी महत्वपूर्ण कुराहरुलाई आत्मसाथ गर्दै कहाँ कहाँ सरकार लचक हुनसक्छ, यी ठाउँहरुमा सरकारको आफ्नो अधिकार क्षेत्र र जिम्मेवारी, सरकारको जहाँ छ, जे गर्नसक्छ, त्यो भन्ने अवस्थामा सरकारको तर्फवाट सबै प्रकारको वातावरण बनाउन सरकारले काम गर्छ ।’
त्यस्तै कानून न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हाले निर्वाचनको वातवरण बनाउन एमालेले सरकारको ध्यानाकर्षण गराएको र सरकारले त्यसलाई सकरात्मक रुपमा लिएर काम अगाडी बढाउने बताए ।
वर्तमान अवस्थाको राजनीतिक निकास निकाल्न निर्वाचन बाहेक अर्को विकल्प नभएको पनि उनको भनाइ छ ।
प्रकाशित मिति २०८२ पुस ८ गते मंगलबार ०३:३८




