पोखरा ।
आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य चुनावमा अत्यावश्यक सामग्री ढुवानीका लागि आवेदन दिन सम्बद्ध पक्षलाई निर्वाचन आयोगले आग्रह गरेको छ ।
चुनावमा निर्वाचन सामग्री ढुवानीका लागि हेलिकप्टर, ट्रक, कन्टेनर प्रयोग गरिनेछ । ढुवानीका लागि कुरियर सेवा सञ्चालन गर्ने फर्म वा कम्पनीलाई सूचीकृत हुन आउन आयोगले आग्रह गरेको छ ।
आयोगले सूचीकृत हुन इच्छुक फर्म वा कम्पनीलाई आवश्यक शर्त पूरा गरी आवेदन दिन भनेको छ ।
सम्बन्धित निकायबाट सेवा सञ्चालन गर्न प्राप्त गरेको इजाजतपत्र, मूल्यअभिवृद्धिकर दर्ता प्रमाणपत्र र आर्थिक वर्ष २०८१÷८२ सम्मको करचुक्ता प्रमाणपत्र र गएको तीन आर्थिक वर्षको कारोबार विवरण खुलेको प्रमाणपत्रको प्रतिलिपि पेश गर्न आयोगले भनेको छ ।
हेलिकप्टर भाडामा लिनका लागि पछिल्लो तीन आर्थिक वर्षको न्यूनतम औसत वार्षिक कारोबार रकम तीन करोड रुपैयाँ बराबरको हुनुपर्नेछ ।
ट्रक तथा कन्टेनर भाडामा दिनेले एक करोड रुपैयाँ र कुरियर सेवाका लागि ३० लाख रुपैयाँ बराबरको कारोबारको विवरण पेश गर्नुपर्नेछ ।
कुरियर सेवा प्रदान गर्न चाहने कम्पनीले आफ्नो कुरियरको कार्यालय र प्रतिनिधि ७७ वटै जिल्लमा रहेको टेलिफोन, मोबाइल नम्बरबसहितको विवरण निवेदनका साथ पेश गर्नुपर्नेछ ।
एकभन्दा बढी समूहमा सूचीकृत हुनेगरी निवेदन दिएमा त्यस्तो निवेदनउपर कारबाही नगरिने आयोगले जनाएको छ ।
सेवा प्रदायक फर्म वा कम्पनी सूचीकृत गर्ने, नगर्ने सम्पूर्ण अधिकार भने आयोगमा निहीत रहेको छ ।
यसैबीच निर्वाचन आयोगले आज पत्रकार सम्मेलन गर्दैछ ।
आयोगको नियमित (साप्ताहिक) पत्रकार सम्मेलन आज दिउसो तीन बजे आयोगको मिडिया सेन्टर हलमा आयोजना गर्न लागिएको प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा र माघ ११ गते हुने राष्ट्रियसभाको निर्वाचनको बारेमा अहिलेसम्म भएका प्रगतिका बारेमा जानकारी दिने जनाएको छ ।
प्रकाशित मिति २०८२ पुस १८ गते शुक्रबार १२:०५




