कास्की । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कास्कीका दुई क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ ।
निर्वाचन क्षेत्रनम्बर–१ मा राजकाजी गुरूङ करण र क्षेत्र नं. २ मा हेम बहादुर थापा किरणले टिकट पाएका छन् । उनीहरु दुवै जनालाई पार्टी संयोजक प्रचण्डले टिकट हस्तान्तरण गरेका हुन् । कास्की ३ भने तत्कालिन नेकपा समाजवादीकाे भागमा परेकाे र चर्चामा रहेका प्रेम पाैडेल पारिवारिक कारणले चुनावमा उठने मनस्थितिमा नरहेकाेले छलफल जारी रहेकाे बुझिएकाे छ ।
करणले २०६४ काे पहिलाे संविधान सभाकाे निर्वाचनमा कास्की- २ बाट जीत निकालेका थिए भने २०७० को दोस्रो संविधान सभा निर्वाचनमा पर्वतकाे क्षेत्र नं. १ बाट नेपाली कांग्रेसका उम्मेदवार विकास लम्सालसँग पराजित भएका थिए । गुरूङ २०७४ काे निर्वाचनमा कास्की २ (ख) बाट प्रदेशसभामा नेपाली कांग्रेसका बिन्दुकुमार थापासँगसमेत झिनो मतले पराजित भएका थिए । पटक पटक टिकट पाउन सफल करण प्रचण्डका विश्वासपात्रका रूपमा समेत चिनिन्छन् ।
यहाँ नेकपा एमालले बैनबहादुर अधिकारी क्षेत्रीलाई उम्मेदवार बनाउने तयारी गरेकाे छ ।
किरण थापाकाे नामबाट चिनिने हेमबहादुर थापा पूर्व जनमुक्ती सेनासमेत हुन् । पहिलाे संविधानसभाकाे निर्वाचनमा तत्कालिन कास्कीकाे क्षेत्र नं ३ बाट टिकट पाउने चर्चामा रहेर पनि टिकट भने पाएनन् । थापा पछि डा. बाबुराम भट्टराई नेतृत्वकाे नयाँ शक्तितर्फ लागे । नयाँशक्तिबाटै कास्की क्षेत्र नं. २ (क) बाट प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दिएका थापा पराजित भए । साे क्षेत्रमा किरण एमाले नेता कृष्ण थापासँग पराजित भएका थिए । करिव १ वर्षअघि पुन : माओवादीमै फर्किएका थापाले बद्लिँदाे परिवेशमा बदलिएकै पार्टी नेपाली कम्युनिष्ट पार्टीकाे तर्फबाट क्षेत्र नं. २ काे टिकट हात पारेका छन् । जहाँ एमालले उनै कृष्ण थापालाई नै उम्मेदवार तय गरेकाे छ ।
कास्की ३ भने तत्कालिन नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) काे भागमा परेकाे र चर्चामा रहेका प्रेम पाैडेलले पारिवारिक कारणले चुनावमा नउठने बताएपछि साे क्षेत्रका लागि नेकपा छलफलमै रहेकाे एक केन्द्रीय सदस्यले बताए ।
प्रकाशित मिति २०८२ माघ ५ गते आइतबार १०:२८




