पोखरा ।
नेपाली काँग्रेसका प्रवक्ता देवराज चालिसेले भरपर्दो मानिस र पार्टीलाई देश सुम्पिन नसके प्रयोगशाला बन्ने निश्चित रहेको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले पार्टी कहिल्यै पुरानो नहुने बताए ।
अहिले नेपाली काँग्रेस नयाँ अनुहार, नयाँ सिद्धान्त र नीति बोकेर अघि बढिरहेको जिकिर समेत उनले गरे । उनले काँग्रेसले १६५ निर्वाचन क्षेत्रमध्ये १०६ वटामा नयाँ अनुहारलाई उम्मेदवार बनाएको पनि जानकारी दिए ।
अहिले भरपर्दो भविष्य हेर्ने बेला भएकाले कोही पनि उत्तेजनामा नआउन पनि उनले आग्रह गरे । देश तरकारी चाखेको जस्तो नभएको भन्दै भरपर्दो पार्टीलाई सुम्पिनुपर्ने उनको भनाइ छ ।
कुनै कुरा मन परेन भन्दैमा आफ्नो भविष्य खाल्डोमा हाल्न नहुने उनले उल्लेख गरे ।
उनले भने, ‘पार्टी पुरानो हुँदैन, मान्छे पुरानो हुनसक्छ । मान्छे बुढो हुनसक्छ । नयाँ मान्छे लिएर आएका छौँ । १६५ क्षेत्रमा १०६ जना नयाँ उम्मेदवार दिएका छौँ । प्रधानमन्त्रीको उम्मेदवार नयाँ प्रश्ताव गरेका छौँ । यसबेला भरपर्दो भविष्य हेर्ने हो । कसको हातमा देश जिम्मा दिने ? यो प्रश्न हो । देश प्रयोगशाला हुँदैन । तरकारी टेस्ट गरेको जस्तो लौका र घिरौँला रोजेको जस्तो हुँदैन । लगातार लौका खाएँ यस पटक घिरौँला खान्छु भनेको जस्तो हुँदैन । देश भरपर्दो मानिस र भरपर्दो पार्टीको हातमा देश सुम्पिन सकेनौँ भने देशमा अराजकता हुन्छ, प्रयोगशालातर्फ जान्छ । सोमालिया जस्तो हुन्छ । शंका, उत्तेजनाको भरमा कुनै चिज मन परेन भन्दैमा आफ्नो भविष्य खाडलमा हाल्न सक्दैनौँ ।’
प्रवक्ता चालिसेले अहिले हरेक नागरिकले देशप्रति माया गर्ने बेला भएको बताए ।
विवेक र संयमले निर्णय गर्ने बेला आज रहेको भन्दै उनले जनतालाई मालिक बनाउने प्रणाली स्थापित गरेर काँग्रेस अघि बढ्ने जिकिर गरे ।
प्रकाशित मिति २०८२ माघ १८ गते शनिबार ०१:४७




