पोखरा।
पहिलाे संविधानसभा चुनावकाे नतिजालाई अपवाद मान्ने हाे भने कास्की क्षेत्र नं. १ नेपाली कांग्रेस र नेकपा एमालेले आलोपालो जित्दै आएको क्षेत्र हाे ।
क्षेत्र नम्बर १ का मतदाताले २०४८ सालको पहिलो आम निर्वाचनमा कांग्रेसका तारानाथ रानाभाटलाई जिताए भने एमाले नेता खगराज अधिकारीलाई दोस्रोपटक २०५१ सालमा विजयी बनाए । फेरि २०५६ सालको आम निर्वाचनमा बदला लिँदै तारानाथले परिणाम उल्ट्याए । यहाँ पनि आलोपालो नै चल्याे ।
२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा भने देशैभरमा चलेकाे लहर जस्तै यहाँ पनि माओवादी केन्द्रका नेता देव गुरुङ विजयी बने । मनाङ र कास्की १ बाट चुनावमा हाेमिएका देवले पछि कास्की- १ छाडेपनि सम्पन्न उपनिर्वाचनमा जनताले माओवादी केन्द्रकै कृष्णबहादुर गुरुङलाई संविधानसभामा पठाए । यी २ निर्वाचनलाई अपवाद मान्दा यहाँ सधैंकाे आलोपालो कांग्रेस र एमालेकै रह्याे ।
२०७० सालको दोस्रो संविधानसभामा एमालेका खगराज अधिकारीलाई हराउँदै कांग्रेसका यज्ञबहादुर थापा विजयी बने भने २०७४ सालको आम निर्वाचनमा यज्ञबहादुर पराजीत हुँदा खगराज संघीय संसद पुगे । २०७९ को चुनावमा कांग्रेसका किशोरदत्त बरालले पराजय व्यहोर्दा एमालेकै नेता मनबहादुर गुरुङ सो क्षेत्रबाट विजयी बने । साे बेला कांग्रेस आन्तरिक अन्तरघातमा अल्मलिएकाे चर्चा समेत भयाे ।
लमजुङ र तनहुँसँग सीमा जोडिएको कास्की निर्वाचन क्षेत्र नम्बर १ मा योपटक विभिन्न पार्टीका नयाँ अनुहारहरु मैदानमा उत्रिएका छन् । राजनीतिक परिस्थिति पनि फेरिएकाे छ । ०६४ र ०६५ मा जीत निकाल्ने माओवादी यतिबेला नेकपा भएकाे छ र नेकपामा तत्कालिन एमालेका जल्दाबल्दा नेताकाे एउटा तप्कासमेत जाेडिएकाे छ । साे बेलाकाे माओवादीसँग भएकाे चुनाव चिन्ह हसिँया हथाैडा खाेज्ने मतदातालाई अहिले उम्मेदवारहरू बदलिएकाे चुनाव चिन्ह तारा चिनाउन व्यस्त छन् ।
यता, विशेष महाधिवेसनबाट नयाँ नेतृत्व पाएकाे कांग्रेसले आफूँलाई बदलिएकाे कांग्रेसकाे दावी गरिरहेकाे छ। भदाै २३ र २४ काे जेनजी आन्दोलनपछि प्रहार र मारमा परेकाे एमाले अधिवेशनबाट ओली नेतृत्वमै चुनावी मैदानमा छ । पछिल्लाे प्राेटेस्टपछि बालेनलगायत केहि अन्य क्षेत्रका पपुलिस्टहरूलाई पार्टीमा जाेडेर रास्वपा देशैभर उत्साहका साथ याे चुनावमा भिडिरहेकाे छ ।
मुलुककाे पछिल्लाे राजनीतिक अवस्थामा हुन लागेकाे याे चुनावका लागि कास्की निर्वाचन क्षेत्र नं. १ मा अघिल्लोपटकको नजिता दोहो¥याउने मनसुवासहित नेकपा एमालेले कास्की अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीलाई उम्मेदवार बनाउँदा कांग्रेसले व्यवसायी तिलकबहादुर रानाभाट, नेपाली कम्युनिष्ट पार्टीले राजकाजी गुरुङ ‘करन’,राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले लेखक गनेश पौडेल(खड्गराज पौडेल),राष्ट्रिय प्रजातन्त्र पार्टीले बाबुराम रानाभाट,जनता समाजवादी नेपालले रामकाजी चर्मकार,राष्ट्रिय जनमोर्चाले रविमोहन ढकाल,प्रगतिशील लोकतान्त्रिक पार्टीले कर्णबहादुर गुरुङ,मंगोल नेसनल अर्गनाइजेसनले श्रीमान थापा,नेपाल मानवतावादी पार्टीले आशबहादुर दमै,नेपाल जनमुक्ति पार्टीले मीनबहादुर दर्जी,नेसनल रिपब्लिक पार्टीले यज्ञबहादुर गुरुङ,श्रम संस्कृति पार्टीले बिलबहादुर तामाङ,नेपाल कम्युनिष्ट पार्टी माओवादीले कुमार परियार,उज्यालो नेपाल पार्टीले मनिषा द्वा,आम जनता पार्टीले हर्कबहादुर थापा र कृष्णबहादुर राउत स्वतन्त्र उम्मेदवारको रुपमा मैदानमा छन् ।
कास्कीको क्षेत्र नम्बर ३ मात्र हैन, सबैजसो क्षेत्रले पटक–पटक मत र मन बदलेको छ । अघिल्लो निर्वाचनको परिणाम हेर्ने हो भने यहाँ नयाँ दल र खासगरी रास्वपा बढी उत्साहित देखिन्छ भने नेपाली कांग्रेस,एमाले र माओवादी केन्द्रहरु रक्षात्मक अवस्थामा छन् ।
२०७९ को चुनावमा होमिँदा रास्वपा दल त थियो तर छोटो तयारीपछि चुनावमा होमिएको थियो । जिल्ला र वडास्तरमा पार्टी संगठन निर्माण नभइसकेको त्यो बेला रास्वपा भनेको अध्यक्ष रवि लामिछाने नै थिए । संचारकर्मीको रुपमा रविको लोकप्रियताबाट तानिएका राजु राईले त्यो चुनावमा सहजै उम्मेदवार बन्ने अवसर पाए । ठूला राजनीतिक दलहरुसँगको प्रतिस्पर्धा उत्रिएका उनले नपत्याउँदो किसिमले १० हजार ९४१ मत प्राप्त गरे । समानुपातिकतर्फ रास्वपाले सो क्षेत्रबाट १५ हजार ८६४ मत प्राप्त ग¥यो ।
प्रत्यक्षतर्फको चुनावमा एमालेका मनबहादुर गुरुङ २५ हजार ७०८ मतसहित विजयी बनेका हुँदा कांग्रेसका किशोरदत्त बरालको २३ हजार १८९ थियो भने राष्ट्रिय प्रजातन्त्र पार्टीका सूर्यबहादुर गुरुङले ३ हजार ८ मत ल्याउँदा हाम्रो नेपाली पार्टीका प्रमोद आचार्यले १ हजार २९ मत ल्याएका थिए । समानुपातिकतर्फ एमालेले २१ हजार ४२३,कांग्रेसले १६ हजार माओवादीले ५ हजार १०८,राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ हजार ८६६ र एकीकृत समाजवादीले १ हजार १३ मत ल्याएका थिए । हाम्रो नेपाल पार्टी १ हजार १२७ मत ल्याउँदै एकीकृत समाजवादीभन्दा अगाडि थियो ।
प्रत्यक्षतर्फको चुनावमा एमालेका मनबहादुर गुरुङ २५ हजार ७०८ मतसहित विजयी बनेका हुँदा कांग्रेसका किशोरदत्त बरालको २३ हजार १८९ थियो भने राष्ट्रिय प्रजातन्त्र पार्टीका सूर्यबहादुर गुरुङले ३ हजार ८ मत ल्याउँदा हाम्रो नेपाली पार्टीका प्रमोद आचार्यले १ हजार २९ मत ल्याएका थिए । त्यो चुनावमा हाम्रो नेपाली पार्टीको पक्षमा नसोचेको मत खस्नुमा चाहिँ काठमाडौंका मेयर बालेन्द्र साहले नै लिएका लौरो चुनाव चिन्ह पनि कारक थियो । उम्मेदवार को भन्ने जानकारी नहुँदा–नहुँदै पनि त्यो पार्टीमा जनताले भोट बर्साएका थिए ।
अहिले कास्की क्षेत्र नम्बर १ मा रास्वपाको तर्फबाट खड्गराज (गनेस) चुनावी मैदानमा छन् । उनी यसअघिको स्थानीय तहको चुनावमा लौरो चुनाव चिन्ह लिएर पोखरा महानगरपालिकाको मेयरको उम्मेदवार थिए । गनेस ‘अटेरी अभियान’का अगुवा पनि हुन् । काठमाडौंका मेयर बालेन्द्र साहका हितैषि गनेस बालेन रास्वपा प्रवेश गर्दा केन्द्रीय सदस्यमा चुनिए भने उनकै कोटाबाट संघीय सांसदको उम्मेदवार बने । अघिल्लो चुनावमा पाएको मत र रास्वपाको पक्षमा देशव्यापि समर्थनका कारण उनी उत्साही छन् । घरदैलो अभियानमा रहेका गनेसले मंगलबारमात्र सामाजिक सञ्जालमा क्यूआर कोड सार्वजनिक गर्दै आर्थिक सहयोगको अपिल गरेका छन् ।
विरासत जोगाउन र ११ औं महाधिवेशनमार्फत् केन्द्रीय सचिवमा बढुवा भएका खगराज अधिकारीले आफ्नो औचित्य पुष्टि गर्न पनि एमालेको लागि कास्की क्षेत्र नम्बर १ अघिल्ला चुनावभन्दा पनि महत्वपूर्ण बनेको छ । खगराज यतिबेला गण्डकी प्रदेशसभामा एमाले संसदीय दलका नेता छन् । कांग्रेस–एमालेबीचको सहमति अनुसार उनी केही समयपछि मुख्यमन्त्री बन्ने लाइनमा छन् । संघीय चुनावमा होमिँदा उनको चुनावी क्षेत्र कास्की १ नै हो । जिल्ला अध्यक्षलाई चुनावी मैदानमा उतार्दा उनले त्यहाँ आफ्नो सम्पूर्ण शक्ति खर्चने जमर्को गरिरहेका छन् । बैनबहादुर तत्कालीन कालिका गाविसको अध्यक्ष तथा जिल्ला समन्वय समिति कास्कीका पूर्वप्रमुखसमेत हुन् ।
कांग्रेसले चाहिँ योपटक क्षेत्र नम्बर १ मा महासमिति सदस्य तिलकबहादुर रानभाटलाई टिकट दियो । कास्की १ कांग्रेसका धेरै नेता भएको तर आफू–आफूबीच वैमनश्यता भएको ठाउँ हो । अघिल्लो चुनावमा पार्टी सभापति किशोरदत्त बराल उम्मेदवार हुँदा अर्का टिकटका आकांक्षी तथा निवर्तमान सभापति कृष्ण केसीले खुलेआम असहयोग गरेको चर्चा थियो । त्यही निहुँमा कृष्ण केसीमाथि ६ महिने कारवाही गरियो । संयोगले कृष्ण र किशोर दुबै कांग्रेसको विशेष महाधिवेशनको पक्षमा उभिए ।
विशेष महाधिवेशनबाट गगन थापा सभापति बन्दा त्यहाँ कृष्ण आकांक्षी थिए तर पार्टीभित्रको कलह सुल्झाउनकै निम्ति नयाँ उम्मेदवार अगाडि सार्नुपर्ने भएपछि एकाएक तिलक रानाभाटले टिकट पाए । पार्टी सभापति गगन थापाको सचिवालय रहेको घरधनी तथा म्यानपावर व्यवसायी तिलकलाई यतिबेला सो क्षेत्रका सबै कांग्रेसीले साथ दिएका छन् ।पूर्वमहामन्त्री तारानाथ रानाभाटदेखि पूर्व सहमहामन्त्री जीवन परियार, पूर्वमन्त्री यज्ञबहादुर थापा,हालका केन्द्रीय सदस्य कृष्ण केसीहरु चुनावी अभियानमा खटिएका छन् । नेताहरु चुनावी प्रचारमा देखिँदा तिलक उत्साही छन् तर जनताको मन र मत तान्न उनी कति सफल हुन्छन् भन्ने चाहिँ फागुन २१ पछि नै थाहा हुन्छ ।
सो क्षेत्रबाट उम्मेदवार बनेकामध्ये नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का राजकाजी गुरुङ‘करन’ चाहिँ हिजो माओवादीले बिर्सेको ‘वर्ग विभेद’को हतियारसहित चुनावी मोर्चामा छन् ।राजकाजी माओवादी जनयुद्धकालीन नेता हुन् । मृत्युलाई नजिकबाट देखेका राजकाजी माओवादी खुल्ला राजनीतिमा आउँदा कास्कीका नेता थिए ।
शान्ति सम्झौतापछि खुल्ला राजनीतिमा आएका उनले यहाँको भूगोल,वर्गीय अवस्था र जातीय समीकरण पनि बुझेका छन् । माओवादीले भुँइमान्छेलाई बिस्र्यो भन्ने आरोपबाट उनी मुक्त छैनन् तर २०६४ सालको संविधानसभा चुनावमा कास्की ३ बाट विजय हासिल गरेका ‘करन’ जनताको मन छुने कुरा गर्न र मत तान्न चाहिँ माहिर नै छन् ।
उनी माओवादीले २०६४ सालमा जुन सफलता पायो,त्यसको कारण र सहयोगीहरु खोज्दैछन् । आदिवासी–जनजाति, सीमान्तकृत, भूमिहीन र मध्यमवर्गीय नागरिकमाथिको भरोशासहित मैदानमा उत्रिएका उनी चुनाव जितेमा अनि नेकपा नेतृत्वको सरकार निर्माण हुँदा सोझै मन्त्री बन्ने हैसियतका नेता हुन् ।
अघिल्लो चुनावमा राम्रै मत पाएको राप्रपाले योपटक बाबुराम रानाभाटलाई उम्मेदवार बनाउँदा कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपालले खगोलशास्त्री मनिषा द्वालाई मैदानमा उतारेको छ । नेपाल एस्ट्रोनोमिकल सोसाइटी, इन्टरनेशनल एस्ट्रोनोमिकल युनियन, नेपालका लागि नेशनल आउटरिच को–अर्डिनेटर, राष्ट्रिय खगोल शिक्षा संयोजकको रुपमा काम गरेकी उनी राजनीतिमा युवा हस्तक्षेपको पक्षपाति हुन् ।
मैदानमा उत्रिएका सबै उम्मेदवारहरु जनअभिमत बुझ्न घरदैलो अभियानमा छन् । राष्ट्रिय राजनीतिमा ठूला नेता जन्माउन नसकेको कास्कीको पोखरा महानगरपालिकाका केही वडासहित रुपा र मादी गाउँपालिका क्षेत्र नम्बर १ मा पर्छ । कविशिरोमणि लेखनाथ पौड्यालको जन्मथलो लेखनाथ क्षेत्र कास्कीको सम्भावना बोकेको ठाउँ हो । कास्कीको उत्तर–पूर्वी क्षेत्रका एक लाख १६ हजार ८७८ जना मतदाता नै अन्तिम निर्णायक हुन् ।
प्रकाशित मिति २०८२ माघ २७ गते सोमबार ०७:५९




