पोखरा ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मुलुकलाई अस्थिरता र बारम्बार हुने विद्रोहबाट जोगाउन निर्वाचन महत्वपूर्ण रहेको बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाइ सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले एक शताब्दीमै चार वटा ठूला क्रान्ति र आन्दोलन व्यहोरेको नेपालले अब थप संकट धान्न नसक्ने उल्लेख गर्दै उनले भावी पुस्ताका लागि शान्त र अनुशासित मुलुक निर्माण गर्नुपर्नेमा जोड दिए ।
कार्यवाहक प्रमुख आयुक्त भण्डारीले मुलुकमा भएका राजनीतिक उतारचढाव र त्यसले ठूलो प्रभाव पारेको बताए ।
उनले राजनीतिक दल र नेतृत्वले यस विषयमा गम्भीरतापूर्वक सोच्नुपर्ने बताएका छन् । सञ्चारकर्मीहरूको भुमिकालाई उच्च प्राथमिकता दिँदै भण्डारीले समाचार संप्रेषणमा थप जिम्मेवार बन्न आग्रह गरे ।
सूचनाको विश्वसनीयता कायम राख्न ‘फ्याक्ट चेक’ (तथ्य जाँच) को महत्वबारे प्रकाश पार्दै उनले सत्य र विश्लेषणमा आधारित समाचारले मात्र समाजलाई सही दिशा दिने दाबी गरे ।
सञ्चारकर्मीहरूलाई सक्षम बनाउन प्रशिक्षण र क्षमता अभिवृद्धिका कार्यक्रमहरू सञ्चालन गर्नुपर्नेमा उनको विशेष जोड थियो ।
उनले भने, ‘हाम्रो यही शताब्दीमा हाम्रो मुलुकमा चारवटा क्रान्ति विद्रोह आन्दोलनहरू भए । एउटा मुलुकले यति धेरै एउटा शताब्दीमा क्रान्ति, विद्रोह, आन्दोलन र मुलुकै नष्ट हुने सम्मको क्रिया धान्न सक्दैन । हाललाई यो राजनीतिक विषय होला भोलि राजनीतिबाट चुनिएर आउने व्यक्तित्वहरूले यसको व्याख्या गर्नुहोला । तर मैले निर्वाचनसँग कसरी जोडेँ भने त्यस्तो संकटबाट मुलुकलाई मुक्त गर्ने प्रयोजनको लागि तपाईँ हामी छलफल करना बसिराखेका छौँ । अब आइन्दा यस्तो विषय अर्थात मुलुक अनुशासन र लयबाट भड्किने र सधैँ विद्रोह हुने कहिले पनि नेपालीले देख्न नपरोस् र हाम्रो पुस्तौँपुस्ताले चाहिँ शान्ति, अमनचयन कायम रहेको मुलुकमा एउटा सच्चा नागरिकको हैसियतले बाँच्न पाउनुहोस् भन्ने हामीले शुभकामना पनि दिन सकौँ । र धेरै आलोचना मात्रै गरेर भएन, सम्मान पनि गर्न सिक्नुप¥यो । त्यसैले मैले अन्तिममा पुनः दोहो¥याएर भन्छु यहाँहरू सत्य समाचार, तथ्य समाचार त्यसलाई अझ विश्लेषण गरेर त्यसलाई फ्याक्ट चेक गरेर समाचार संप्रेषण गराउने सन्दर्भमा सबै सञ्चारकर्मी मित्रहरूलाई एकदम सक्षम बनाउनुहुने हुनेछ र प्रशिक्षण प्रशिक्षित गराउन सक्नुहुनेछ भन्ने विश्वास छ ।’
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले मुलुकलाई अनुशासन र लयमा फर्काउनुपर्ने आवश्यकता औंल्याए ।
आगामी पुस्ताले सधैँ आन्दोलन र विद्रोह मात्र देख्नुपर्ने अवस्थाको अन्त्य गरी शान्ति र अमनचयन कायम भएको मुलुकमा गौरवशाली नागरिकका रूपमा बाँच्न पाउनुपर्ने उनको भनाइ छ ।
उनले आलोचना मात्र गर्ने प्रवृत्तिको सट्टा सकारात्मक कार्यको सम्मान गर्ने संस्कार विकास गर्न सबैलाई आह्वान गरे ।
प्रकाशित मिति २०८२ फागुन १ गते शुक्रबार १२:०९




