पोखरा ।
निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले तोकिएकै समयमा निर्वाचन हुने भएकोले ढुक्क भएर तयारीमा लाग्न आग्रह गरेका छन् ।
गोरखापत्र संस्थानले आईतबार आयोजना गरेको कार्यक्रममा उनले केही तत्वहरुले निर्वाचन बिथोल्ने प्रयास गरेपनि त्यो प्रयास सफल नहुने बताएका हुन् ।
उनले तोकिएकै मिति र समयमा निर्वाचन सम्पन्न हुने उल्लेख गरे । अझै पनि केही उम्मेद्वारहरुले आफूलाई निर्वाचनको वारेमा संशय राखेर फोन गर्ने गरेको उल्लेख गर्दै उनले भ्रममा नपरि निर्वाचनको प्रचारप्रसारमा लाग्न सुझाव दिए ।
उनले केही कुण्ठित व्यक्तिहरूले निश्चित उद्देश्य पूरा गर्न अनावश्यक हल्ला फैलाउने प्रयास गर्नसक्ने उल्लेख गरे ।
अब नेपाली जनता त्यस्ता प्रायोजित हल्लाका साक्षी बस्न नसक्ने उनको भनाई छ । निर्वाचनको विकल्प निर्वाचन नै भएको दोहो¥याउँदै उनले निर्वाचनको वातावरण विथोलिने अवस्था अब नबन्ने जिकिर गरे ।
राजनीतिक दल, उम्मेदवार र तिनका कार्यकर्ताहरू निर्वाचन प्रचार–प्रसारमा सक्रिय रहेको र उनीहरूले पनि निर्वाचन बाहेक अर्को विकल्प नदेखेको उनको भनाइ छ ।
नयाँ पुराना सबै शक्तिहरुले समेत निर्वाचनलाई नै मार्गका रूपमा स्वीकार गरेको उनको दाबी छ ।
नेपालमा सुशासन प्रवाह गर्ने पवित्र उद्देश्य र आकांक्षा राखेर बसेका व्यक्तिहरूलाई भ्रममा पारेर, धमिलो पानीमा माछा मार्ने प्रयास सफल हुने उनले बताए ।
निर्वाचन विथोल्ने वा अस्थिरता सिर्जना गर्ने कुनै पनि गतिविधि सरकारले निषेध गर्ने र निर्वाचन आयोगले समेत नजिकबाट अनुगमन गरिरहेको उनले स्पष्ट पारे ।
साथै, वातावरण निर्माणमा देखिएका कमजोरी सुधार गर्न सरकारलाई आवश्यक सुझाव दिइरहेको जानकारी पनि उनले दिए ।
उनले भने, ‘केही कुण्ठित व्यक्तिहरुले निश्चित उद्देश्य पूरा गर्ने प्रायोजनका लागी नचाहिने हल्लाहरु गर्न सक्छन्, उनीहरुको निश्चित उद्देश्य पूरा गर्ने प्रायोजनका लागि अब नेपाली जनता साक्षी बस्न सक्दैनन् । अब निर्वाचनको वातावरण विथोलिने वातारण बन्दैन । जसरी पनि निर्वाचन सम्पन्न हुन्छ । कि निर्वाचनको विकल्प देखाएर नेपालमा सुशासनको प्रवाह यसरी हुन्छ, भनेर वैकल्पिक मार्ग देखाउनुस् । अनि त्यो बेलामा हामी के रहेछ भनेर सोच्न सकुँला तर निर्वाचन चाहीँ विथोल्न सक्दैनौ । तोकिएको मितिमा तोकिएको समयमा फागुन २१ गते विहान ७ बजेबाट बेलुका ५ बजेसम्म मतदान प्रक्रियाको समय छ, त्यो सम्पन्न हुन्छ । निर्वाचन हुन्छ, निर्वाचनको विकल्प निर्वाचन नै हो । निर्वाचनलाई विथोल्ने प्रयास कहीबाट पनि नगरियोस् । यो मैले भनिरहँदा निर्वाचन आयोगको कमजोरी पनि नसोचियोस् । निर्वाचन आयोजले निर्वाचन गर्छ । राजनितिक दल, उम्मेद्वार, राजनितिक दलका कार्यकर्ताहरु सबै आ–आफ्नो ठाउँमा निर्वाचन प्रचारप्रसारमा गईराख्नुभएको छ । उहाँहरुले पनि निर्वाचन बाहेक अर्को वैकल्पिक मार्ग देखिरहनुभएको छैन । भदौ २७ गतेभन्दा अगाडीको शक्ति र भदौ २३ र २४ को विद्रोहपछि उठेको अर्को नयाँ शक्ति यी दुबै शक्तिको संयोजन पनि निर्वाचन बाहेक अरु केही देख्नुभएको छैन । उहाँहरु निर्वाचनमा लागिराख्नु भएको छ । अब यसरी निर्वाचन गरेर नेपालमा सुशासन प्रवाह गर्ने पवित्र उद्देश्य राखेर, आकांक्षा लिएर बसिरहेका व्यक्ति र व्यक्तिहरुलाई कसैले निर्वाचन विथोलिन्छ, अलिकति धमिलो पानीमा माछा मार्न पाईयो भने यसो केही समय खेल्न पाइन्छ भन्ने होला, त्यो हुँदैन । त्यो गर्न पाइँदैन, त्यस्ता कार्यहरु सरकारले वर्जित गर्ला, निर्वाचन आयोगले पनि नजिकैबाट नियालीरहेका छौँ । यो यो कमजोरी भो सरकार यसलाई सच्याएर निर्वाचनको वातावरण बनाउन भन्छौँ ।’
उनले निर्वाचन आचारसंहिता पालना गर्न पनि सम्बन्धित सबैसंग आग्रह गरे । केही सञ्चारमाध्यामहरुले मत सर्वेक्षण गरिरहेको उल्लेख गर्दै उनले मत सर्वेक्षण नगर्न पनि आग्रह गरे ।
आफूले पटकपटक मत सर्वेक्षण नगर्न आग्रह गरेपनि केही सञ्चारमाध्यामहरुले नटेरेको उनको गुनासो छ । उनले आचारसंहिता विपरितको कार्य गरिरहे कारबाही गर्न बाध्य हुने चेतावनी समेत दिए ।
प्रकाशित मिति २०८२ फागुन १० गते आइतबार ०३:०१




