पोखरा ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नवनिर्वाचित सांसदहरूका लागि भने अभिमुखीकरण तथा परिचयात्मक कार्यक्रम आयोजना गरेको छ ।
दुई दिने अभिमुखीकरण कार्यक्रल ललितपुरमा आजदेखि शुरु भएको हो ।
अभिमुखीकरण कार्यक्रमको पार्टीका उपसभापतिद्वय डोलप्रसाद अर्याल र डा. स्वर्णिम वाग्ले घण्टी बजाएर उद्घाटन गरे ।
कार्यक्रममा नवनिर्वाचित प्रत्यक्ष तथा समानुपातिकतर्फका सांसदहरु सहभागी छन् । रास्वपाले प्रतिनिधि सभा सदस्यको निर्वाचनमा १ सय ८२ सिट जितेको थियो ।
आफ्ना अधिकांश सांसद नयाँ भएकाले संसदीय अभ्यास र आचारसंहिता लगायत विषयमा अभिमुखीकरण र प्रशिक्षणका दिनको लागी रास्वपाले २ दिने कार्यशाला आयोजना गरेको जनाएको छ ।
आज र भोलि हुने कार्यक्रममा पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह, उपसभापतिसहित सबै नेता तथा सांसदहरू सहभागी हुँदैछन् ।
अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रतिनिधिको जिम्मेवारी, पार्टीले अवलम्वन गर्नुपर्ने नीति लगायतमा प्रशिक्षित दिइने जनाइएको छ ।
पहिलो पटक सांसद बनेकाहरूलाई काम, कर्तव्य, पार्टीको नीति, दृष्टिकोण, कार्यदिशाबारे सुसूचित गर्न, काममा एकरूपता कायम गर्नका लागि रास्वपाले प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो ।
अभिमुखीकरणमा पार्टीले चुनावको बेला नागरिक माझ गरेको करारका विषयवस्तुबारे पनि प्रशिक्षण दिइनेछ । देशको वर्तमान अवस्था, पार्टीको बाचा, जिम्मेवारी र सांसदको भूमिकाबारे सांसदहरूलाई प्रशिक्षण दिइने रास्वपाले जनाएको छ ।
सांसदहरूलाई प्रशिक्षण दिनका लागि रास्वपाले संसदीय अभ्यासका जानकार, संविधानविद्, इतिहासविद्, परराष्ट्रविद्, अर्थविद्हरूलाई आमन्त्रण गरेको छ ।
अभिमुखीकरण कार्यक्रममा सांसदहरूलाई मोबाइलको प्रयोग गर्न र तस्बिर खिच्न प्रतिबन्ध लगाइएको छ ।
रास्वपा महामन्त्री कबिन्द्र बुर्लाकोटीले सार्वजनिक गरेको पत्रमा सांसदहरुलाई कार्यक्रम स्थलमा परिवार सदस्य वा अन्य व्यक्तिसँग भेटघाट, फोटो खिच्ने वा बैठक नगर्न निर्देशन दिइएको छ ।
प्रकाशित मिति २०८२ चैत ३ गते मंगलबार १२:०५




