पोखरा ।
गैरआवासीय नेपाली संघ (एनआरएनए)को नयाँ कार्यसमितिका पदाधिकारीहरुले कुनैपनि राजनीतिक दल तथा भ्रातृ संगठनहरुमा आवद्ध नहुने प्रतिवद्धता जनाएका छन् ।
१२ औँ महाधिवेशनबाट गठित कार्यसमितिको बुधवाको बैठकमा संघका सम्पूर्ण पदाधिकारीले यस्तो प्रतिवद्धता जनाएको संघका अध्यक्ष डा. हेमराज शर्माले जानकारी दिएका हुन् ।
अध्यक्ष शर्माका अनुसार पदाधिकारीहरुले सामाजिक सञ्जालमार्फत राजनीतिक टिप्पणी, गालीगलौज वा व्यक्तिगत चरित्रहत्या नगर्ने प्रतिवद्धतापत्रमा हस्ताक्षर समेत गरेका छन् ।
उनले युद्ध प्रभावित मध्यपूर्व क्षेत्रमा रहेका नेपाली नागरिकलाई सहयोग पु¥याउने उद्देश्यले तत्काल एक करोड रुपैयाँको राहत कोष स्थापना गर्ने र सो रकम तुरुन्तै रिलिज गर्ने निर्णय गरेको पनि बताए ।
संघका पदाधिकारी तथा सदस्यहरूबाट न्युनतम एक करोड रुपैयाँ संकलन गर्ने र सो विशेष टास्क फोर्सको योजना अनुसार र मध्यपूर्वमा रहेका नेपाली नागरिकको सहयोगका लागि खर्च गर्ने उनले बताए ।
उनले हाल संघमा करिव एक लाख ३० हजार सदस्य रहेको उल्लेख गर्दै प्रत्येक सदस्यबाट कम्तीमा एक डलर संकलन गर्ने निर्णय पनि बैठकले गरेको छ ।
बैठकले सचिवालय व्यवस्थापन लगायतका निर्णय पनि गरेको शर्माले बताए । नवगठित कार्यसमितिको बैठक शुक्रवारसम्म बस्नेछ ।
प्रकाशित मिति २०८२ चैत ५ गते बिहीबार १२:३२




