पोखरा ।
नेपाली कांग्रेस को आधिकारिकता सम्बन्धी विवादमा सर्वोच्च अदालत ले दिएको फैसलापछि पार्टीभित्र नयाँ राजनीतिक गतिविधि तीव्र बनेको छ। सभापति गगन थापा ले अदालतको निर्णयलाई पार्टी एकताका लागि अवसरका रूपमा लिन आग्रह गरेका छन्। सामाजिक सञ्जालमार्फत् उनले यो विषय जित–हारको नभई विधि, प्रक्रिया र लोकतान्त्रिक अभ्यासको भएको उल्लेख गर्दै पार्टीलाई साझा यात्रामा अगाडि बढाउने वातावरण बनेको बताए।
उनले पार्टीका नेता–कार्यकर्तालाई एकता र पुनरुत्थानका लागि सकारात्मक भूमिका खेल्न आह्वान गर्दै सभापतिका रूपमा सबैभन्दा ठूलो जिम्मेवारी आफ्नो काँधमा रहेको र त्यसअनुसार सक्रिय हुने प्रतिबद्धता जनाए। साथै, सुरु भइसकेको १५औँ महाधिवेशनको प्रक्रियालाई पार्टी रूपान्तरण र सुदृढीकरणको अवसरका रूपमा उपयोग गर्न आग्रह गरेका छन्।
सर्वोच्च अदालतका न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौला को संयुक्त इजलासले विशेष महाधिवेशनबाट निर्वाचित थापा नेतृत्वको कार्यसमितिको पक्षमा फैसला सुनाएको हो।
उता, कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का ले भने अलग रूपमा आन्तरिक छलफल अघि बढाएका छन्। उनले शनिबार दिउँसो साढे ३ बजे गोल्फुटारस्थित आफ्नै निवासमा निवर्तमान पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको बैठक बोलाएका छन्।
अदालतमा दायर रिट खारेज भएपछि आगामी रणनीति तय गर्न खड्का निकट नेताहरूसँग परामर्शमा जुटेका हुन्। छलफलमा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की लगायतका नेताहरू सहभागी भएका छन्।
स्रोतका अनुसार केन्द्रीय सदस्यहरू मीन विश्वकर्मा, गुरुराज बराल, नैनसिंह महर, कुन्दनराज काफ्ले र उर्मिला थपलियालगायत नेताहरूसँग पनि खड्काले छलफल गरेका छन्। अदालतको निर्णयपछि आफ्नो आगामी धारणा औपचारिक रूपमा सार्वजनिक गर्ने तयारीमा रहेका खड्काले आइतबारसम्म वक्तव्य जारी गर्ने जनाइएको छ।
प्रकाशित मिति २०८३ वैशाख ५ गते शनिबार ०२:४४




