२०८३ साउन २१ गते बिहीबार

पोखरामा ८० प्रतिशत भूमिगत विद्युत् तार बिछ्याउने काम सम्पन्न, डिसेम्बरसम्म सक्ने लक्ष्य

पोखरामा ८० प्रतिशत भूमिगत विद्युत् तार बिछ्याउने काम सम्पन्न, डिसेम्बरसम्म सक्ने लक्ष्य

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ साउन ११ गते सोमबार ०४:३०

पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरामा भूमिगत विद्युत् तार बिछ्याउने आयोजनाको भौतिक प्रगति ८० प्रतिशत पुगेको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले यस वर्षको डिसेम्बरसम्म...

पोखरा ।

गण्डकी प्रदेशको राजधानी पोखरामा भूमिगत विद्युत् तार बिछ्याउने आयोजनाको भौतिक प्रगति ८० प्रतिशत पुगेको छ ।

नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले यस वर्षको डिसेम्बरसम्म सम्पूर्ण काम सम्पन्न गर्ने लक्ष्यसहित निर्माणलाई तीव्रता दिएको जनाएको छ ।

आयोजनाका प्रमुख इन्जिनियर आनन्द सुवेदीका अनुसार निर्माण कम्पनीले डिसेम्बर अन्त्यसम्म काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ ।

२०७८ साल माघमा दुई वर्षे अवधिका लागि ठेक्का सम्झौता भए पनि विभिन्न कारणले काम सुरु हुन ढिलाइ भएको थियो ।

२०८० साल वैशाखदेखि निर्माण सुरु भएको आयोजनाको तीन पटक थपिएको म्याद पनि सकिएर चौथो पटकको लागि डिसेम्बर लास्ट सम्म म्याद थप्न प्रस्ताव गरिएको हो ।

भारतीय कम्पनी टाटा प्रोजेक्ट्सले पोखरा र भरतपुर क्षेत्रमा भूमिगत विद्युत् तार बिछ्याउने जिम्मेवारी पाएको हो । पोखरामा मात्रै करिब दुई अर्ब रुपैयाँ लागतमा आयोजना कार्यान्वयन भइरहेको प्राधिकरणले जनाएको छ ।

हाल पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशद्वारदेखि पृथ्वीचोकस्थित सेती पुलसम्म भूमिगत विद्युत् लाइन बिछ्याएर घरघरमा विद्युत् वितरणको कामसमेत सम्पन्न भइसकेको छ ।

सभागृहदेखि न्युरोडसम्म दुवैतर्फ र सिर्जना चोकदेखि राष्ट्रबैंक चोकसम्मका दुवै साइडमा गरि ५ किलो मिटर मात्र काम बाँकी रहेको इन्जिनियर सुवेदीले जानकारी दिए ।

आयोजनाअन्तर्गत पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशमार्गदेखि कुँडहरचोक, अमरसिंहचोक, पृथ्वीचोक हुँदै जिरोकिलोमिटरसम्मको मुख्य सडक, लेकसाइड, सभागृहचोक र न्युरोड क्षेत्रमा विद्युत् लाइन भूमिगत गरिएको छ ।

विद्युत् लाइनसँगै टेलिफोन, केबल तथा इन्टरनेट सेवाका लागि अप्टिकल फाइबरसमेत भूमिगत बिछ्याइएको छ ।

असार १ गतेदेखि असोज १ गतेसम्म वर्षायाममा सडक खन्न नपाइने व्यवस्थाका कारण सिर्जना चोकदेखि राष्ट्रिय वाणिज्य बैंक चोकसम्मको बाँकी काम अस्थायी रूपमा रोकिएको आयोजनाले जनाएको छ । वर्षा सकिएलगत्तै उक्त क्षेत्रमा निर्माण पुनः सुरु गरिनेछ ।

प्राधिकरणले पोखरालाई अव्यवस्थित हावामा झुन्डिएका विद्युत् तथा सञ्चारका तारमुक्त बनाउँदै सुरक्षित, भरपर्दो र आकर्षक सहर बनाउने उद्देश्यले आयोजना सञ्चालन गरेको हो ।

भूमिगत प्रणाली लागू भएपछि विद्युत् आपूर्तिको विश्वसनीयता बढ्नुका साथै बढ्दो विद्युत् माग व्यवस्थापन गर्न सहज हुने र सहरी सौन्दर्यसमेत अभिवृद्धि हुने प्राधिकरणको विश्वास छ ।

 

प्रकाशित मिति २०८३ साउन ११ गते सोमबार ०४:३०
हजुरको प्रतिक्रिया