पोखरा ।
गण्डकी प्रदेशको राजधानी पोखरामा भूमिगत विद्युत् तार बिछ्याउने आयोजनाको भौतिक प्रगति ८० प्रतिशत पुगेको छ ।
नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले यस वर्षको डिसेम्बरसम्म सम्पूर्ण काम सम्पन्न गर्ने लक्ष्यसहित निर्माणलाई तीव्रता दिएको जनाएको छ ।
आयोजनाका प्रमुख इन्जिनियर आनन्द सुवेदीका अनुसार निर्माण कम्पनीले डिसेम्बर अन्त्यसम्म काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ ।
२०७८ साल माघमा दुई वर्षे अवधिका लागि ठेक्का सम्झौता भए पनि विभिन्न कारणले काम सुरु हुन ढिलाइ भएको थियो ।
२०८० साल वैशाखदेखि निर्माण सुरु भएको आयोजनाको तीन पटक थपिएको म्याद पनि सकिएर चौथो पटकको लागि डिसेम्बर लास्ट सम्म म्याद थप्न प्रस्ताव गरिएको हो ।
भारतीय कम्पनी टाटा प्रोजेक्ट्सले पोखरा र भरतपुर क्षेत्रमा भूमिगत विद्युत् तार बिछ्याउने जिम्मेवारी पाएको हो । पोखरामा मात्रै करिब दुई अर्ब रुपैयाँ लागतमा आयोजना कार्यान्वयन भइरहेको प्राधिकरणले जनाएको छ ।
हाल पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशद्वारदेखि पृथ्वीचोकस्थित सेती पुलसम्म भूमिगत विद्युत् लाइन बिछ्याएर घरघरमा विद्युत् वितरणको कामसमेत सम्पन्न भइसकेको छ ।
सभागृहदेखि न्युरोडसम्म दुवैतर्फ र सिर्जना चोकदेखि राष्ट्रबैंक चोकसम्मका दुवै साइडमा गरि ५ किलो मिटर मात्र काम बाँकी रहेको इन्जिनियर सुवेदीले जानकारी दिए ।
आयोजनाअन्तर्गत पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशमार्गदेखि कुँडहरचोक, अमरसिंहचोक, पृथ्वीचोक हुँदै जिरोकिलोमिटरसम्मको मुख्य सडक, लेकसाइड, सभागृहचोक र न्युरोड क्षेत्रमा विद्युत् लाइन भूमिगत गरिएको छ ।
विद्युत् लाइनसँगै टेलिफोन, केबल तथा इन्टरनेट सेवाका लागि अप्टिकल फाइबरसमेत भूमिगत बिछ्याइएको छ ।
असार १ गतेदेखि असोज १ गतेसम्म वर्षायाममा सडक खन्न नपाइने व्यवस्थाका कारण सिर्जना चोकदेखि राष्ट्रिय वाणिज्य बैंक चोकसम्मको बाँकी काम अस्थायी रूपमा रोकिएको आयोजनाले जनाएको छ । वर्षा सकिएलगत्तै उक्त क्षेत्रमा निर्माण पुनः सुरु गरिनेछ ।
प्राधिकरणले पोखरालाई अव्यवस्थित हावामा झुन्डिएका विद्युत् तथा सञ्चारका तारमुक्त बनाउँदै सुरक्षित, भरपर्दो र आकर्षक सहर बनाउने उद्देश्यले आयोजना सञ्चालन गरेको हो ।
भूमिगत प्रणाली लागू भएपछि विद्युत् आपूर्तिको विश्वसनीयता बढ्नुका साथै बढ्दो विद्युत् माग व्यवस्थापन गर्न सहज हुने र सहरी सौन्दर्यसमेत अभिवृद्धि हुने प्राधिकरणको विश्वास छ ।
प्रकाशित मिति २०८३ साउन ११ गते सोमबार ०४:३०




