२०८३ असोज २४ गते शनिबार

समाज कल्याण परिषद् सबैभन्दा बद्नाम संस्था होः खगेन्द्र सुनार

समाज कल्याण परिषद् सबैभन्दा बद्नाम संस्था होः खगेन्द्र सुनार

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ भदौ ४ गते बिहीबार १२:२१

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले समाज कल्याण परिषद् सबैभन्दा बद्नाम संस्था भएको आरोप लगाएका छन् । बिहीबार सर्वाजानिक लेखा समितिमा नेपाललाई प्राप्त हुने वैदेशिक सहायताको लेखापरीक्षण सम्बन्धमा भएको...

पोखरा ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले समाज कल्याण परिषद् सबैभन्दा बद्नाम संस्था भएको आरोप लगाएका छन् ।

बिहीबार सर्वाजानिक लेखा समितिमा नेपाललाई प्राप्त हुने वैदेशिक सहायताको लेखापरीक्षण सम्बन्धमा भएको छलफलमा उनले यस्तो बताएका हुन् ।

उनले समाज कल्याण परिषद्मा दर्ता भएका गैरसरकारी संस्था (एनजीओ) तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ)ले प्राप्त गर्ने रकम, सञ्चालन गर्ने कार्यक्रम र त्यसबाट लक्षित समुदायले पाएको लाभको प्रभावकारी अनुगमन हुनुपर्नेमा नभएको आरोप लगाए ।

उनले विशेषगरी दलित, गरिब, सीमान्तकृत तथा पिछडिएका समुदायका नाममा आउने वैदेशिक सहयोग वास्तविक लक्षित समुदायसम्म नपुग्ने गरेको बताए ।

कार्यक्रम सञ्चालन, तालिम र प्रशासनिक खर्चका नाममा रकम खर्च हुने तर त्यसको प्रत्यक्ष परिणाम भने नदेखिएको उनको आरोप छ । उनले एनजीओका कार्यक्रममार्फत जातीय तथा साम्प्रदायिक तनाव बढाउने गतिविधि भएको पनि आरोप लगाए ।

राज्यले त्यसलाई नियन्त्रण गर्नुपर्ने उनको भनाई छ । जात, धर्म वा समुदायका नाममा सामाजिक विभाजन बढाउने गतिविधिलाई वैदेशिक सहयोग वा सरकारी स्वीकृतिको आडमा सञ्चालन गर्न नहुने उनको भनाइ छ ।

उनले दलित तथा गरिब समुदायका लागि विनियोजित बजेट कार्यान्वयनमा सरकारी निकायले देखाउने ढिलाइप्रति पनि असन्तुष्टि जनाए ।

पूर्वाधार निर्माणमा तत्काल टेण्डर प्रक्रिया अघि बढ्ने तर लक्षित समुदायको जीविकोपार्जन तथा क्षमता विकासका लागि छुट्याइएको रकम खर्च गर्न अनावश्यक ढिलाइ हुने गरेको उनको आरोप छ ।

उनले भने, ‘समाज कल्याण परिषद् यी सबै एनजीओ, आईएनजीओको हेडमास्टर हो । त्यहाँभित्र टक्रक्क छलफल हुन्छ । आँखा मिलाउने, भाका मिलाउने, कागज मिलाउने, हँ ? मुख मीठो बनाएर कुरा गर्ने । राउटेको शिक्षाको नाममा कति पैसा लगानी भएको थियो दैलेखमा ? गुराँस गाउँपालिकामा ? कति जना राउटेका बालबालिका टाइ लगाएर स्कुल जान्छन् ? नाङ्गै भुतुङ्गै बस्या छन् त्यहाँ । लाखे जात्राको भकुण्डो जस्तो भएर हिँडेका छन् त्यहाँ बजारमा । सबैलाई रक्सी खुवाएर ठीक पारेर राखेका छन् । कति जना राउटेहरूको घर बन्यो त्यहाँ ? त्यो राउटेहरूको छानबिन हुनुपर्छ । समाज कल्याण परिषद सबैभन्दा बदनाम संस्था हो । त्यो संस्थाको बारेमा छलफल हुनुपर्छ, सभापतिज्यू । तत्काल अहिले नै दलितका नाममा, गरिबका नाममा ती सुकुम्बासीमा बसेका, दैलेखमा बसेका, लोहोरेमा बसेका, गडाचौतारामा बसेका, झुुप्रा खोलामा बसेका बादीहरूको नाममा, दलितको नाममा, डुम, चमार, मुसहरहरूको नाममा तराईमा कति पैसा आएको छ तिनीहरूको जीविकोपार्जनमा ? यसको प्रक्रिया के हो ? यहाँ कर्मचारी साथीहरूले पैसा यसरी आउँछ, यसरी जान्छ । यस्ता कुरा मिलाउने, कागज मिलाउनेमा तपाईँहरू लोकसेवा नै पास गरेर आएका मान्छेहरू हुनुहुन्छ, मेरो त्यसमा केही प्रश्न छैन । प्रक्रियामा प्रश्न छैन, परिणाम के हो ? परिणाम चाहियो यहाँ । राउटेलाई लुगा दिने भनेर मुख्यमन्त्री गएर त्यहाँ दिने, भोलिपल्ट हतपत राउटे नाङ्गै भुतुङ्गै हिँड्या छ, बजारमा फेरि । यो खालको कुराहरूलाई चाहिँ मान्य छैन । यो कुरामा सार्वजनिक लेखा समितिले छलफल गर्नुपर्छ । समाज कल्याण परिषदबाट अहिले पनि यहाँ बजारमा भोलि मलाई एउटा बोलाइयो अघि कार्यक्रममा, के भनेर बोलाइयो ? दलितको थर परिवर्तन गर्नुपर्छ, फलानो एनजीओले कार्यक्रम आयोजना गरेको छ, आउनुपर्छ । सामाजिक सद्भाव भड्काउने काम भइरहेको छ, एनजीओको नामबाट । जातीय द्वन्द्व भड्काउने काम भइरहेको छ । साम्प्रदायिकता भड्काउने काम भइरहेको छ । राज्यले तल अनुमोदन गरेर छाप लगाएर, लालछाप लगाएर ल देश भड्का भन्न पाइँदैन । जातको नाममा, धर्मको नाममा समाज भड्काइरहन पाइँदैन । त्यो ठेक्का दिन कसैलाई पनि दिन पाइँदैन । एकथरी दलित अहिले परेको छ, बजारमा फेरि, छिटो थर फेरी हाल्न पाएको भए म पनि ठूलै हुन्थेँ भन्ने परेको छ । थर फेर्न मन लागेका साथीहरू जाने तर दलितलाई अगाडि देखाएर राज्यलाई ध्वस्त पार्न पाइँदैन । अङ्ग्रेजीमा पैसा ल्याएर नेपालीमा डुबाउन पाइँदैन । बडो मजाले डकुमेन्ट पेस गरेर नेपाल ध्वस्त बनाउन पाइँदैन ।’

नेपालमा आउने वैदेशिक सहायता, अनुदान तथा ऋणको प्रभावकारी लेखापरीक्षण र उपयोगमा कडाइ गर्नुपर्ने उनले बताए ।

वैदेशिक स्रोतबाट सरकारको प्रत्यक्ष खातामा नआउने सहायता रकमको समेत लेखापरीक्षण हुनुपर्नेमा उनको जोड दिए ।

सांसद सुनारले वैदेशिक ऋण तथा सहयोगमा निर्माण भएका ठूला पूर्वाधारको उपयोगिता र आर्थिक प्रतिफलबारे पनि प्रश्न उठाए ।

पोखरा र भैरहवा विमानस्थललगायत परियोजनाको सञ्चालन अवस्था मूल्यांकन गर्दै ऋणको भार मात्र थपिने गरी परियोजना अघि बढाउन नहुने उनको भनाई छ ।

प्रकाशित मिति २०८३ भदौ ४ गते बिहीबार १२:२१
हजुरको प्रतिक्रिया